सुनसरी । तिहार तथा छठ पर्वलाई लक्षित गरी दशैँअघि नै तस्करी गरेर भित्र्याइएको १० लाख रुपैयाँ मूल्यको पटका तथा विस्फोटक पदार्थसहित पक्राउ परेका झुम्काका व्यवसायी धर्मु गोस्वामी र सोनु गोस्वामीलाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार साँझ विशेष अप्रेसन गरी १० लाख ३ हजार २४८ रुपैयाँ मूल्यको पटका बरामद गरेको थियो। गोस्वामीले सञ्चालन गरेको झुम्काको मुख्य हाट लाग्ने स्थानमा रहेको कस्मेटिक पसलमाथिको गोदाम र निजी घरमा भण्डारण गरिएको अवस्थामा प्रहरीले पटका बरामद गरेको हो।
यति ठूलो परिमाणमा दशैँअघि नै पटका भण्डारण गरेर राखेको अवस्थामा बरामद भएपछि प्रहरीले अब पटका कहाँबाट भित्रियो, कसरी भित्रियो र यसमा को–को संलग्न छन् भन्ने विषयमा गहन अनुसन्धान सुरु गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले ७ दिनको म्याद थप गरिएको जानकारी दिँदै आवश्यक अनुसन्धान अघि बढाइने बताए। उनले भने, “७ दिनको म्याद थप गरेका छौँ। अनुसन्धान शून्यबाट सुरु गरेर सबै कुरा खुल्न समय लागे दोस्रो पटक म्याद थप गरेर भए पनि अनुसन्धानलाई निष्कर्षमा पुर्याउँछौँ। विस्फोटक पदार्थसम्बन्धी कसुरमा ‘स्ट्रङ’ मुद्दा बनाउँछौँ।”
खड्काका अनुसार बरामद गरिएको पटका केही दिनपछि डिस्पोज गर्ने तयारीसमेत गरिएको छ।
यता, नाताले दाजुभाइ पर्ने गोस्वामीहरूले करिब १६ लाख रुपैयाँ मूल्यको पटका भारतबाट तस्करी गरी दुई चरणमा झुम्कास्थित घर र पसलमा ल्याएको स्रोतको दाबी छ। स्रोतका अनुसार बरामद पटका लौकहीको बेलहा नाकाबाट झुम्कासम्म पुगेको थियो। भदौको अन्तिम हप्तामा पटकाले भरिएको सामान बेलहा नाकाबाट लौकही, इनरुवा हुँदै झुम्का पुगेको बताइएको छ।
बरामद गरिएको पटका तिहारसम्म भण्डारण गरी बिक्री गर्दा दुई गुणाभन्दा बढी फाइदा हुने गरेको बताइन्छ। त्यसो त, गोस्वामी दाजुभाइले केही दिनअघि भोजपुर र धरानका व्यवसायीलाई ४ लाख रुपैयाँ बराबरको पटका बिक्री गरिसकेको स्रोतको दाबी छ।
कस्मेटिक पसलको आवरणमा पटका बिक्री गर्ने गोस्वामी दाजुभाइलाई नियोजित रूपमा फसाइएको भन्दै झुम्काका व्यवसायी दुई धारमा विभाजित भएका छन्। गलत काम गर्ने व्यवसायीलाई संरक्षण गर्न नहुने भन्दै केही व्यवसायी उनीहरूको विपक्षमा छन् भने अर्को समूहले गोस्वामीहरूलाई फसाइएको दाबी गर्दै प्रहरीको आलोचना गरिरहेको छ।




















