काठमाडौंः वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिमी क्षेत्रमा सक्रिय भएको छ । तर, पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठुलो वर्षा हुन थालेको हो । शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकामा आज शनिबार पनि वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आइतबारसम्मै वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद् डेभिड ढकालले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको आकलन रहेको बताए । ‘आज पूर्वी तराईमा कम वर्षा हुन्छ । मध्यमा काठमाडौंसहितका क्षेत्रमा पनि निरन्तरको झरी रोकिन्छ । तर, वेलावेला वर्षा भने हुन्छ, आकाश केही खुल्छ,’ मौसमविद् ढकालले भने, ‘तर, पश्चिममा भने शुक्रबारको जस्तो वर्षा हुने देखिएको छ । सुदूरपश्चिम र कर्णालीमा भने शुक्रबारभन्दा बढी वर्षा हुने देखिन्छ ।


आइतबार वर्षा थोरै घट्ने देखिएको छ । तर, कर्णाली र सुदूरपश्चिमा भने ठुलो वर्षा कायमै हुने देखिन्छ । सोमबार भने सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ भने अन्यत्र मौसममा सुधार आउने देखिन्छ । मंगलबारबाट भने देशभर मौसममा सुधार आउने आकलन छ ।


गण्डकी र लुम्बिनीमा अत्यधिक वर्षा


२४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षालाई अत्यधिक वर्षा मानिन्छ



बिहीबार र शुक्रबार गण्डकी र लुम्बिनीका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएको छ । नेपाल मौसम विज्ञान विभागका स्वचालित वर्षा मापन केन्द्रको रेकर्डअनुसार बिहीबार साँझदेखि शुक्रबार साँझसम्म पाल्पाको अर्चलेमा २६७।४ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी वर्षालाई अत्यधिक वर्षा मानिन्छ । यस आधारमा पाल्पाको अर्चलेमा अत्यधिक वर्षा भएको देखिन्छ । त्यस्तै, १०० मिलिमिटरभन्दा बढी वर्षा भएका धेरै केन्द्र छन् ।


विभागको रेकर्डअनुसार नवलपरासी पूर्वको गैँडाकोटमा १८३।२, पर्वतको पञ्चासेमा १६७।८, बाँकेको बैजपुरमा १६७।२ र पाल्पाको कुमालगाउँमा १५५ मिलिमिटर वर्षा भएको छ ।


त्यस्तै, अर्घाखाँचीमा १९३.८, सिमलपानीमा १४८.४, तनहुँको अत्रौलीटारमा १६४.४, स्याङ्जाको पञ्जमुलमा १४८.२, पर्वतको कार्किनेटामा १४४, बाँकेको ढकेरीमा १४६.४ र बर्दियाको बेलभरमा १४२.२ मिलिमिटर वर्षा भएको छ ।


विभागको वर्षा निगरानी प्रणालीमा २४ घण्टामा १४० मिलिमिटर वर्षालाई सम्भावित पहिरो तथा स्थानीय क्षेत्रमा उच्च बहावको जोखिमसँग जोडिएको चेतावनी तहमा राखिएको छ ।


बाढीपहिरोको जोखिम बढेका २५ जिल्लामा आज सवारी आवागमन बन्द

चार दिनदेखिको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य र पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार साँझदेखि बन्द गरेको सवारी आवागमन आज पनि कायमै हुने भएको छ । मनसुन प्रतिकार्य कमान्ड पोस्टको शुक्रबारको बैठकले धेरै वर्षा भएका र अझै निरन्तर वर्षा हुन सक्ने आकलन गरिएका २५ जिल्लालाई रेड अलर्टमा राख्दै शुक्रबार र शनिबार सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो । केन्द्रमा गृह मन्त्रालय र विपत् प्राधिकरणसहितका निकाय सम्मिलित समिति छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यो समिति छ । यसबाहेक पहेँलो रङले संकेत गरेर अर्लट भएका जिल्लामा भने रातिको समयमा सवारीसाधन बन्द गर्न र दिउँसोको समयमा अवस्था हरेर निर्णय लिन समितिलाई भनिएको छ ।


तराईका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई रेड अलर्टमा राखेर सवारीसाधन बन्द गरिएको छ । त्यस्तै, पहाडी तथा भित्री मधेशका जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, दाङ र सुर्खेतमा पनि रेड अलर्ट छ ।


यसैगरी, उच्च पहाडी तथा हिमाली जिल्ला गोरखा, लमजुङ मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा र दार्चुलामा पनि आवागमन बन्द गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले निरन्तरको वर्षाले ठुला राजमार्ग बन्द भइसकेको र अरू क्षेत्रमा पनि जोखिम बढेकाले निर्णय लिइएको बताइन् । ‘धेरैजसो राजमार्ग पहाडी क्षेत्रसँग जोडिएका छन् । ‘पहाड फोडेर राजमार्ग बनेका छन्,’ उनले भनिन्, ‘निरन्तर पानी पर्दा पहिरो खस्न सक्ने र तराईमा बाढी, डुबान हुन सक्ने भएकाले सम्भावित क्षति रोक्न लामो तथा छोटो दूरीका सवारीसाधन रोक्न भनेका छौँ,’ उनले भनिन्, ‘रेड अलर्ट जारी नभएका ठाउँमा पनि जिल्लाले नै आवश्यकताअनुसार निर्णय गर्न सक्छन् ।’ यो खबर आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।