झापाः कन्काई नदीको जल सतह सचेतना तहमा पुगेपछि झापामा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल सतह बढेर जोखिमको अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा साइरनसमेत बजाइएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले कन्काई नदीको जल सतह सचेतना तहमा पुगेको जानकारी दिँदै नदी तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रशासनका अनुसार इलामलगायत नदीको उत्तरी जलाधार क्षेत्रमा पछिल्लो करिब चार घण्टादेखि उल्लेख्य वर्षा भएको छैन। यसका कारण तत्काल कन्काई नदीको जल सतह अझ धेरै बढ्ने सम्भावना तुलनात्मक रूपमा कम रहेको अनुमान गरिएको छ। यद्यपि मौसम तथा नदीको जल प्रवाहमा अचानक परिवर्तन आउन सक्ने भएकाले जोखिमलाई सामान्य रूपमा नलिन प्रशासनले आग्रह गरेको छ।
नदीको जल सतहमा आएको वृद्धिसँगै सम्भावित जोखिमलाई ध्यानमा राखेर तटीय क्षेत्रमा साइरन बजाई स्थानीय बासिन्दालाई सचेत गराइएको हो। प्रशासनले नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रशासनले विपद्को अवस्था सिर्जना भएमा सुरक्षित स्थानतर्फ जान, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको विशेष ख्याल गर्न र नदीको बहाव हेर्न वा जोखिमपूर्ण स्थानमा पुगेर अवस्था बुझ्ने प्रयास नगर्नसमेत अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाले सबै झापावासी तथा विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क र चनाखो अवस्थामा रहन आग्रह गरेको छ। नदीको जल सतह तथा मौसमको अवस्था निरन्तर अनुगमन भइरहेको भन्दै प्रशासनले आवश्यक सूचना तथा निर्देशनको पालना गर्न नागरिकलाई अनुरोध गरेको छ।
सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई समेत तयारी अवस्थामा रहन भनिएको छ।




















