इटहरीः राज्यको नियमनकारी निकायबाट फर्मसिस्टहरूलाई हेर्ने दृष्टिकोण कमजोर भएको औषधी क्षेत्रसँग नजिक रहेका व्यवसायी तथा विद्यार्थीहरूले गुनासो गरेका छन् ।
प्रदेश १ का औषधी व्यवसायीहरूले बिहीबार इटहरीमा गरेको छलफल कार्यक्रममा स्वास्थ्य जस्तो जिम्मेवार र संवेदनशील क्षेत्रलाई उपेक्षा गरिएकोमा व्यवसायीले दुखेसो गरेका हुन् ।
मुलुकमा जारी नयाँ कानुनबारे नेपाल फार्मेसी सङ्घ प्रदेश नम्बर १ ले छलफल चलाएको हो । छलफलमा फर्मासिस्टहरूको भएको दरबन्दी पनि औषधी व्यवस्था विभागका प्रमुखले काटेको भन्दै यस क्षेत्रलाई हेला गरिएको सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठले बताए । सम्बन्धित निकायबाट नै यस्तो हेपाहा प्रवृत्ति जारी राख्ने हो भने पढ्ने विद्यार्थी र व्यवसायी हतोत्साहित हुने उनको भनाइ थियो ।
त्यस्तै, सङ्घका कोषाध्यक्ष अतीत गुरागाईले फर्मसिस्ट विद्यार्थी निरुत्साहित भएको तर्क गरे । फर्मासिस्टको कोटा नै नखुलाएपछि लोकसेवाका लागि तयारी गरेका औषधी क्षेत्रका विद्यार्थी समस्यामा परेको उनले बताए । उनले चिकित्सकले नै फर्मासिस्टलाई हेर्ने दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताए ।
जारी नयाँ मुलुकी संहिताले व्यवस्था गरेको औषधी कानुनबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो । फार्मेसी काउन्सिलका पूर्व अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय महासचिव बाबुराम हुमागार्इंले औषधी दिने व्यक्ति बिरामीका लागि महत्वपूर्ण हुने हँुदा उसलाई सम्मानजनक रूपले हेरिनुपर्ने बताए ।
हाल जारी कानुनमा केही महत्वपूर्ण व्यवस्था रहेको भन्दै यसलाई फेर्न खराब पक्षहरू लाग्न सक्ने उनले बताए । प्रदेश नम्बर १ मा करिब १ हजार ५ सय फर्मासिस्ट रहेको सङ्घले जानकारी दिएको छ ।