इटहरी: ३८औं वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायत जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे ।

आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतको जातका विरुवा रोपिएको छ । वृक्षारोपण अघि भएको कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद सीताराम मेहताले इटहरी उपमहानगरले वीपी जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम राखेकोमा धन्यवाद ज्ञापन गरे ।

उनले वीपी कोइराला एउटा पार्टीको मात्र नभई देशकै नेता भएको वताए । मेयर द्धारिकलाल चौधरीले देशका लागि योगदान दिएका नेताहरुको स्मृतिमा उपमहानगरले वृक्षारोपण कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले देश र समाजका लागि योगदान दिएका ब्यक्तित्वहरुको नाममा स्मृति भवन र स्मारक वनाउन उपमहानगरले वजेट विनियोजन गरेको जानकारी दिए ।

कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव प्रकाश वस्नेतले वीपी कोइरालाको योगदानको चर्चा गरे । वडाध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । इटहरी उपमहानगरले बुधबार (भोलि) पुष्पलाल स्मृति दिवसका अवसरमा विहान सात वजे इटहरी १४ नरभाषामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उपमहानगरले यो वर्ष १ लाख विरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।