इटहरी: इटहरीकोे मुख्य चुनौती तथा विवादित रुपमा आईरहने फोहोर ब्याबस्थापनको विषय अब केही महिना देखि समाधान हुने भएको छ ।

वेष्ट एण्ड इन्भारो म्यानेजमेण्ट प्रालिले इटहरी उपमहागरपालिका–१० मा निर्माण शुरु गरिएको ल्यान्ड फिल्ड साइटको काम अन्तिम चरणमा पुगेको कम्पनी प्रमुख मानध्वोज मोक्तानले बताए । अबको ३ महिना भित्र काम सक्ने योजना रहेको कम्पनी प्रमुख मोक्तानको भनाई छ ।

करिब १३ करोड ५० लाखको लागतमा निर्माण गरिरहेको डम्पिङ साइटमा कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै ठाउँमा डिस्पोज गरिने छ । नकुहिने फोहोर मध्ये सिसा, प्लाष्टिक जस्ता वस्तुलाई सम्बधित कम्पनीसँगँसहकार्य गरी नियन्त्रण गरिनेछ भने कुहिने फोहोरलाई खाना पकाउने ग्यासंका लागि प्रयोग गरिने निर्माण कम्पनीले बताएको छ ।

निर्माण कार्यमा मानध्वोज मोक्तान, देवेन्द्र लिम्बू, मोहन भण्डारीको संयुक्त लगानी रहेको छ । साढे १३ करोड लगानी मध्ये करिब ४० प्रतिशत रकम वल्ड बैंक र बैकल्पिक उर्जाको लगानी रहेको मोक्तानले बताए । अहिले कुहिने फोहोर प्रशोधन उपकरण जडान गर्ने डाइजेस्टरको काम भइरहेको छ ।

२७ फिट गहिराई, ७५ मिटर गोलाई रहेको उक्त डाइजेस्टरको तला डलान गरि फोहोर प्रशोधनको काम गर्ने योजना रहेको कम्पनीले बताएको छ । शुरुको केही समयमा विबादित कुराले काम अघि बढ्न सकेको थिएन । लगत्तै चाइनाबाट मेसिन ल्याउने भनेपनि उक्त मेसिन महँगो पर्ने भएकाले भारतबाट मेसिन ल्याउँदा निर्माणको काम शुचारु गर्न ढिला भएको बताउँदै अब भने कामले गति लिने कम्पनीले जनाएको छ । उक्त निर्माणको काम सकिएसगैं इटहरीको प्रमुख समस्याको समाधान हुने निर्माण कम्पनीका अध्यक्ष मोक्तानले बताए ।