धरानः धरान उपमहानगरपालीकाको दानावारी लगायत वडा नं ४ जोड्ने सडक खोल्ने कार्यले शेराखोलाकोे खानेपानी मुहान विगारेपछि धरान ५ का वडावासीहरु विगत डेढ महिनादेखी खानेपानी नआउदा समस्यामा परेका छन ।
धरान उपमहानगरपालीका वडा नं ५ साविक पाँचकन्या गाविसको देउराली, साउने, ठिङ्गावारी र खैरेनीवासीहरु पानीको चरम अभाव भएपछि टाढा टाढाबाट पानी वोकेर र किनेर खाना बाध्य भएका छन । वडा नं  ५ माथिल्लो देउरालीकी सम्झना लामिछाने भन्छिन,– ‘ एक महिनादेखी पानी आएको छैन, हामीले वोकेर पानी प्रयोग गर्दै आएको छौ ।’ आउदा पनि लेदो मात्र आउछ पिउँन त होइन समान्य प्रयोग गर्नसम्म मिल्दैन अव कति दिन यसरी वस्नु पर्ने हो ।’
धरान तल्लो देउरालीका ज्ञान वहादुर विश्वकर्मा भन्छन्– ‘ धेरै भयो पानी आउदैन खान त बोकेर खाइन्थ्यो, गर्मिको समय छ सरसफाई र चर्पी जान गाह्रो भएको छ । केटाकेटीलाई लिन पठाउ खोलाको डर छ, पुल छैन ।’ जडान गरिएका धारामा पानी नआउँदा खैरेनी लिन जाँदा लाइन वस्नुपर्ने बाध्यता रहेको अर्का वडावासी अशोक वराइलीले बताए । उनी भन्छन्,–‘ खोरियावस्ती आफन्तकोबाट पानी ल्याएर खान्छौ ।’
देउराली खानेपानी व्यवस्थापन समितिका अध्यक्ष मोहन कार्कीका अनुसार विगत लामो समयदेखी जडान गरिएका धारामा पानी आएको छैन । धरान ४ नं वडा जोड्ने सडक निर्माण गर्दा माथिबाट डोजरले झारेको माटो,लेदोेले शेरा खोलामा रहेको खानेपानी मुहानमा असर गरेकाले पानी नआएको उनले बताए । अहिले हामीले अर्कै स्रोत व्यवस्था गर्नुपर्ने अवस्था भएको छ । उनले भने, ‘ रोपाइ गर्न तयार पारेको हिलो जस्तो पानी आउछ ।’
वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बु भन्छन,– ‘वडावासीलाई पानीको चरम अभावमा छ । टाढाबाट बोकेर, आकाशिय पानी थापेर प्रयोग गरिहरनु परेको छ । हामीले उपमहानगरपालीकालाई धेरै पटक कुरा राखौँ तर कुनै सुनुवाई नै भएन । हामीलाई धेरै पनि होइन एउटा व्यवस्थित खानेपानी ट्याङ्की र पाइपका लागी सहयोग गरे हुने थियो । त्यो सम्म उपमहानगरले गर्न सकेन ।’
वडावासी पानी खान पाएका छैनन, उपामहानगरपालीकाको चोक सौन्दर्यकरणका लागी करौडौ बजेट छुट्याको छ, खानेपानीको लागी केही पनि नगरिएको वडा अध्यक्ष लिम्बूले बताए । आउँने आर्थिक वर्षमा त ५ नम्बर वडाबासीको लागि व्यवस्थित खानेपानीका लागि बजेट पर्छ भन्ने आशामा रहेपनि केही दिन अगाडी सार्वजनिक गरिएको बजेट, नीति तथा कार्यक्रममा नपरेको उनले बताए ।