इटहरीः प्रदेश १ मा आज बिभिन्न घटनामा परि एक ७ बर्षीय बालक सहित ४ जनाको मृत्यु भएको छ । विराटनगर–१८ आईसीपी नजिक वर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा ७ वर्षीय बालक अंकुश मण्डलको डुबेर ज्यान गएको हो ।
घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।

पानीमा डुबेका बालकलाई उद्धार गरेर कोशी अस्पताल विराटनगर उपचारका लागि पु¥याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटनाको विषयमा प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ । आज चट्याङ लागेर प्रदेश एकमा २ जनाको मृत्यु भएको छ । बिहानदेखि परेको पानीसँगै चट्याङ लागेर मोरङको सुनवर्षी नगरपालिकाका १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जनाको मृत्यु भएको हो ।

आज दिउँसो २ बजे चट्याङ लागेर मोरङको सुनवर्सी नगरपालिका-५ रमनपुर टोलका ७० वर्षीय महादेवलाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा धान रोपिरहेको अवस्थामा अविरल वर्षासँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको पनि चट्याङले लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरी वर्षासँगै परेको चट्याङबाट घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उता ओखलढुंगाको लिखु गाँउपालिका ६ गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु-४ का २२ वर्षीय सुदर्शन खत्री रहेका छन ।

बिहीबार बिहान प्रदेश नम्बर ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागी लिखुबाट गाम्नाङटारतर्फ जाँदै गर्दा अनियन्त्रित भई कात्तिक भिरबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको जनाइएको छ ।