धरानः विद्यार्थीहरूलाई ट्राफिक सचेतना गराउने उद्देश्यले धरानमा ‘सुरक्षा र ट्राफिक नियम’ सम्बन्धी विचार गोष्ठी सोमबार सम्पन्न भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसद्वारा आयोजित गोष्ठीमा मुलुकी अपराध संहिता ऐनका वियषमा जानकारी गराइएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले अपराध संहिताबारे सहभागीहरूलाई प्रष्ट्याए ।
त्यस क्रममा नयाँ ऐनले परिभाषित गरेका कसुरहरूका विषयमा पनि उनले प्रष्ट पारेका थिए । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक होमराज दाहालले ट्राफिक नियमको पालना विद्यार्थीले मात्र नभएर सबैले गर्नुपर्ने बताए । उनले आम सवारी चालक मात्र नभएर विद्यार्थीले समेत ट्राफिक नियमको उल्लङ्घन गरिरहेको बताए ।
ट्राफिक सचेतनाका कुराहरू विद्यालय स्तरबाटै सिकाउन आवश्यक रहेको क्याम्पस प्रमुख चन्द्रकुमार राईले बताए । स्ववियु सभापति सागर सरगम लिम्बूको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष सुजन खत्रीलगायतका विद्यार्थी नेताको सहभागिता थियो ।