विराटनगरः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलबारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको शिविरमा ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको आयोजकले जनाएको छ ।

शिविरमा १ सय ४५ जनाको भिडियो एक्सरे, ८५ जनाको ईसीजी र १ सय २१ जनाको ल्याब टेष्ट गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका गम्भीर प्रकृतिका २५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । रिफर भएका बिरामीलाई अस्पताल ल्याउन नोबेलले नै गाडीको ब्यवस्था मिलाउने बताइएको छ । अस्पतालमा रिफर भएर आएका बिरामीलाई कम्तीमा ५० प्रतिशत छुटसहित आर्थिक अवस्था हेरी निःशुल्क उपचारको व्यवस्थासमेत मिलाइने अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए ।

शिविरमा आँखा, हाडजोर्नी तथा नसासम्बन्धी समस्या र मेडिसिनका बिरामीले उपचार गराएका थिए । उपचारका लागि नोबेल अस्पतालबाट करिब २ दर्जन डाक्टरको टोली शिविरक्षेत्रमा खटिएको थियो ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी नोबेलले नियमित रूपमा गाउँ–गाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहने जनाएको छ ।

Belbari-Sibir-Photo-1