चुलाचुलीः ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै २ जना कर्मचारीलाई नेपाल विद्युत प्राधिकरण इलाम बितरण केन्द्रले छानबिन थालेको छ । इलाम वितरण केन्द्र मातहतको चुलाचुली फ्युज सेवा अन्र्तगत वडा नं १ का ग्राहकहरुको मिटर रिडिङमा ठगी गरेको भन्दै दैनिक ज्यालादरी कर्मचारी डिल्लीराम खतिवडा र गोटागन्ती मिटर रिङर रन्जु खतिवडा विरुद्ध वितरण केन्द्रले छानविन थालेको हो ।
उनीहरु विरुद्ध उजृरी परेपछि वितरण केन्द्रका लेखा प्रमुख रविन्द्र आर्चाय नेतृत्वको टोली निवेदन बारे बुझ्न चुलाचुली पुगको थियो । तर आक्रोशित स्थानियबासिन्दाको भिडले सहज रुपमा छानबिन गर्न नदिएको बताइएको छ । लकडाउनको समयमा मिटर रिडिङ गर्न सम्भव नभएपछि प्राधिकरणले कुनै पनि ग्राहकले फागुन महिनाको युनिटलाई आधार मानि चैत्र र बैशाखको पोष्टिङ गर्ने परिपत्र भए अनुसार नै गरिएको थियो । तर जेठ महिनाको रिडिङ गर्ने क्रममा बढी खपत युनिट देखिएकाले ग्राहकहरुमा बिल रकम बढी आएको गुनासो राखे ।
ठगीमा उजृरी परेको मिटर रिडर रन्जु खतिवडाको मिटर रिडिङ करारनामा सम्झौता रद्ध गरिएको कार्यालय प्रमुख पंकजकुमार गोइतले बताए । त्यसैगरी दैनिक ज्यालादारी कर्मचारी डिल्लीराम खतिवडा बिरुद्धको उजुरीको बिषयमा छानविन प्रक्रिया टुङ्गा नलागेसम्म हाजिर रोक्का गरिएको छ । उक्त क्षेत्रको विद्युत सेवा सुचारु राख्न नोलाइट तथा मिटर सिकायतको लागि नयाँ कर्मचारी पठाइसकिएको गोइतले लोकल सन्देशलाई बताए । उजुरी परेका दुवै जनाको बारेमा छानविनको लागि कमिटि गठन गरिदिन १ नं प्रदेश कार्यालय विराटनगरमा पत्रचार गरिएको छ ।