इटहरीः बेलबारी नगरपालिकाले सुरु गरेको एक वडा एक उत्पादनलाई जनमुखी र प्रभावकारी बनाउन नगरपालिका क्रियाशील भइरहेकै बेला प्रदेश सरकारले समेत यस अभियानलाई चासोका साथ लिएको छ ।
बुधबार प्रदेश नं १ का कृषि मन्त्री राम राना र प्रदेश सांसद राजकुमार ओझासहितको टोलीले वडा नम्बर ९ मा अभ्यास भइरहेको धान पकेट क्षेत्रको अध्ययन एवम् निरीक्षण गरेको हो ।
कृषि मन्त्री तथा प्रदेश सांसदलाई स्थानीय जनप्रतिनिधिद्वारा प्रदेश सरकारले कृषि क्षेत्रमा लगानी गरि जीविकोपार्जनका रुपमा मात्र नभई किसानहरुलाई व्यवसायिक बनाउने नगरपालिकाको अभियानमा सहयोग गर्न आग्रह गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी(तारा) पराजुलीले बताइन् ।
मन्त्री रानालाई यान्त्रिकरण,औजारीकरण,मलखाद,बीउ बिजन लगायत आवश्यक विषयमा सहज पहुच स्थापना गरिदिन समेत नगरपालिकाका तर्फबाट अनुरोध गरिएको उपमेयर पराजुलीले जानकारी दिइन् । मन्त्री राना किसानको खेतबारीमा पुगेकै बेलामा बेलबारी नगरपालिकाकी उपमेयर पराजुलीले किसानका तर्फबाट आफ्ना कुरा राख्दै भनिन्–‘हाम्रा नगरवासीले पैसा तिर्छु भनेर घन्टौं लाइन बस्दासमेत पर्याप्त मात्रामा मल पाएनन् ।किसानले आफ्नै पैसाले मल किन्छु भन्दा खाली हात फर्केको देखेर एउटा जनप्रतिनिधिको नाताले सार्है दुखी भएकाले यो समस्या हल गर्ने विधि खोजौ मन्त्री ज्यू।’ सो कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, नेकपा बेलबारी पार्टी अध्यक्ष लगायतको समेत सहभागीता रहेको थियो ।