इटहरीः लकडाउनका समयमा इटहरी सरकारले नेकपा र कांग्रेस इटहरीसंग मिलेर भागशान्तिमा राहत वितरण गरेको आरोप जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य पदम अधिकारीले लगाएका छन् । २० वटा वडा मध्ये १२ मा नेपाली कांग्रेसले र ८ वटा वडामा नेकपाले आफ्ना कार्यकर्ता र मतदाताहरुलाई मात्रै राहत वितरण गरेको उनको भनाई छ । 

इटहरीमा नेकपा र कांग्रेसको भाग शान्तिमा इटहरी सरकारले राहत वितरण गरेकाले वास्तविक, श्रमिक, गरिबले राहत नपाएको अधिकारीले दावी गरे । उनले इटहरी सरकारले वितरणको राहत तीन तल्ला घर भएका, सरकारी जागिरे, राम्रो व्यपार गरिरहेकाहरुले पाएको आफुसंग रेकर्ड नै रहेको बताए । उनले इटहरी सरकारले नेकपा र कांग्रेससंग मिलेर राहत वितरणका नाममा व्यापक अनियमितता गरेकाले खर्चको , पाइ पाइको हिसाब सार्वजनिक गर्नु पर्ने बताए ।


उनले इटहरी सरकारले पाइ पाइको हिसाब सार्वजनिक नगरेको त्यसको परिणाम ठिक नहुने बताए । उनले अब जनता समाजवादी पार्टीले कोरोना नियन्त्रण र राहत वितरणका नाममा गरिएको खर्च विवरण सार्वजनिक नगरिए आफ्नो पार्टी लिखित रुपमै बिभिन्न मागहरु अघि सारेर भागशान्तिमा इटहरी नगरवासीका नाममा आएको बजेट सक्ने इटहरी सरकार विरुद्ध आन्दोलनमै उत्रन बाध्य हुने केन्द्रिय सदस्य अधिकारीले बताए ।
उनले गत बर्षको बजेट ल्याउनु अघि पार्टीका तर्फबाट केही सुझाव सहित बिभिन्न मागहरु पेश गरिएपनि त्यसको कुनै सुनुवाई नै नगरि नीति कार्यक्रम र बजेट ल्याइएको स्मरण गाउँदै यसपटकको बजेटमा पनि इटहरी नगरवासीहरुको हितकै लागि गरिएका आफ्नो पार्टीको ४५ बुँदे माग कार्यन्वयन नगरिए अब पार्टी चुप लागेर नबस्ने चेतावनी पनि दिए । तेस्रो वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टी स्थापीत भएपनि इटहरी सरकार ,यहाँ रहेका ठूला दल भन्ने नेकपा र नेपाली कांग्रेसले कुनै पनि छलफलमा सहभागी नगराउने गरेको उनले बताए । अब पनि त्यसो गरिए त्यसको परिणाम त्यती राम्रो नहुने उनले बताए । उनले स्थानीय तहको निवाचन हुनु पूर्व र भएपछि पनि इटहरी सरकार संचालनमा समेत नेकपा र नेपाली कांग्रेस बीच मिलिभगत हुँदै आएको भन्दै आपत्ति पनि जनाएका छन् ।