इटहरीः नेपाली कांग्रेसका इटहरी नगरसभापति हेमकर्ण पौडेलले कोरोना संकटका नाममा हालसम्म इटहरी उपमहानगरपालिकाले गरेको खर्च सार्वजनिक गर्न नगरप्रमुखसंग माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले खर्च विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

लकडाउनका बेला पहिलो र दोस्रो चरणमा गरि राहत वितरणमा के कति रकम कहाँ कहाँबाट जुट्यो, कसरी खर्च भयो , कति खर्च भयो नगरवासीलाई जानकारी हुने गरि सार्वजनिक गर्न इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीलाई अनुरोध पनि गरेका छन् ।

उनले कति नगरवासीले राहत पाए ? राहत वितरणमा आन्तरिक कोषबाट के कति खर्च भयो, प्रदेश र केन्द्र सरकारबाट के कति सहयोग प्राप्त भयो ? नागरिक, व्यवसायी ,राजनितिकदल, संघ संस्थाबाट नगद तथा जिन्सी के कति प्राप्त भयो भएन ? यी सबै कुरा स्पष्ट हुने गरि खर्च विवरण सार्वजनिक गर्नु पर्ने कांग्रेस इटहरी नगरसभापति पौडेलले बताए । नेपाली कांग्रेसले भ्रष्टाचार मुक्त, पारदर्शी र जवाफदेही र जिम्मेवार सरकार चाहेकाले  खर्च विवरण सार्वजनिक गर्न माग गरिएको पौडेलको भनाई छ ।