इटहरीः आफुलाई भ्रष्टाचार विरुद्धको अभियान्त भन्दै बिभिन्न समयमा मिडियामा छाएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफुसंग जोडिएको ४५ लाख प्रकरणको जवाफ आम नगरवासीलाई दिनु पर्ने नेपाली कांग्रेस इटहरीका नगरसभापति हेमकर्ण पौडेलले बताएका छन् ।
मेयर चौधरीले नगरसभापति पौडेललाई इटहरी उपमहानगर वडा नम्बर १७ र १ संग जोडिएको सडक निर्माणको क्रममा जग्गा दलालसंग मिलेर पौडेलले स्थानीय बासिन्दा उचालेर निर्माण गरिएको सडक पुर्ने काम गरेको आरोप लगाएपछि प्रदेश पोर्टलसंग कुराकानी गर्दै इटहरी नगरसभापति पौडेलले सो कुरा बताएका हुन् ।
इटहरीका मेयरले ३ बर्षभित्रमा इटहरीबासीले गौरव गर्ने खालका दिर्घकालिन के के योजनाहरु संचालनमा ल्याए ? भन्ने प्रश्न अब आम नगरवासीले गर्नु पर्ने समय आएको बताए । उनले इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईलाई खानेपानीको जग्गा खरिद गर्दा र पाइप खरिद गर्दा भ्रष्टाचार गरेकाले आफुले सार्वजनिक कार्यक्रममै हातपात गरेको भन्दै मिडियामा मेयर चौधरी पटक पटक आएको बताए । उनले भ्रष्टाचारी रामप्रसादलाई तह लगाउछु, कार्वाही गर्छु भन्दै हिड्ने काम गरेको नेपाली कांग्रेसका नगर सभापति पौडेलले बताए । यतिसम्म कि मेयर चौधरीले शक्तिको दुरुपयोग गर्दै रामप्रसादको घरमा ताला लगाउने र खाली गराएर भत्काउने सम्मको धम्की दिदै घरमा सार्वजनिक सूचना नै टाँस्ने कार्य गरेको नगरसभापति पौडेलले स्मरण गराए । मेयर चौधरीको सूचना टाँस्नेसम्मको हर्कतपछि रामप्रसादले मुख खोल्दै मेयर चौधरीले चुनाव लड्दा र छोरा विवाह गर्दा लागेको ऋण तिर्न आफुसंग ४५ लाख माग्दा नदिएका कारण आफुमाथि मेयर चौधरी पटक पटक आक्रमक भई यस्ता कार्य गरेको भन्ने कुरा मिडिया मार्फत रामप्रसादले बाहिर ल्याएको पौडेलले बताए । रामप्रसादले ४५ लाख रुपिँया मेयरले मागेको प्रशंग मिडिया मार्फत बाहिर ल्याएकै तीन दिन भित्रमा मेयर आत्तिएर हतार हतार रामप्रसादसंग हात मिलाउँदै मेलमिलाप गरेको कुरा आफुले समाजिक सञ्जालमा पोष्ट गरेको फोटोबाट चाल पाएको नगरसभापति पौडेलले बताए ।
नेपाली कांग्रेस नगर सभापति पौडेलले भने –‘हाम्रो पार्टी सधै एकता सहकार्य र मेलमिलापको नीति लिएर अगाडी बढ्ने गरेको छ । वहाँहरु एउटै पार्टीका नेताहरु हुनुहुन्छ मिल्नु राम्रो कुरा हो , तर ४५ लाख मागेको प्रकरण चाँही के हो ? आफुलाई ठुलै भ्रष्टाचार विरुद्धको अभियान्ता ठान्ने मेयरले आफुसंग जोडिएर आएको ४५ लाख प्रकरण बारे आम नगरवासीलाई जवाफ दिनु पर्दैन ?’
मेयर चौधरीलाई जे मन लाग्यो त्यही बोल्ने, गर्ने छुट कहाँबाट आयो ? केबल चर्चा कमाउनका लागि मात्रै हो ? मेयर चौधरीको भ्रष्टाचार विरोधी अभियान ? यी प्रश्नहरुको जवाफ मेयर चौधरीले दिनु पर्ने नगरसभापति पौडेलले बताए । यदि रामप्रसादले गलत गरेका हुन् भने किन अख्तियारसम्म पुर्याएर कार्वाह ीगर्न मेयर चौधरी चुक्नु भयो ? यसको जवाफ दिनु पर्ने उनको भनाई छ । ४५ लाख प्रकरणमा रामप्रसाद पनि एका एक चुप चाप बस्नु उनको पनि कमजोरी भएको उनले बताए ।
नगरसभापति पौडेलले मेयर चौधरी इटहरीको संमृद्धिका लागि पूर्ण रुपमा असफल भईसकेको दावी पनि गरे । उनले आम नगरवासीको मत पाएर मेयर भएर आएदेखि विवादमा आउने काम बाहेक अरु केही गर्न नै नसकेको उनले जिकिर गरे । प्रतिपक्षी दलको नाताले पटक पटक मेयरलाई रचनात्म सहयोग , सुझाव र सल्लाह दिदा पनि नसुध्री जथाभावी बोल्दै हिड्ने काम बाहेक अरु केह ीगर्न नसकेको उनले बताए । आफुले मेयर चौधरीबाट इटहरीको संमृद्धिका लागि आशा मारिसकेको नगरसभापति पौडेलले बताए । अब आम नगरवासीले ३ बर्षे अवधिमा नगर र नगरवासीको संमृद्धिका लागि के के कार्य गर्नु भयो ? भन्ने प्रश्न गर्ने समय आएको उनले बताए ।
उनले इटहरीका मेयर चौधरीले उदण्ड, अराजक हुनुका साथै दादागिरी शैलीमा प्रस्तुत हुन थालेकाले अब नेपाली कांग्रेस पहिला जस्तो गरि उनका हर्कतका बिषयमा चुपचाप नबस्ने चेतावनी पनि दिए । उनले इटहरी १७ र १ संग जोडिएको सडक निर्माणमा आफ्नै पार्टी निकट स्थानीय उपभोक्तालाई चिडियाएर, कार्यपालिका बैंठकले गरेको निर्णय विपरित जवरजस्त गरेकाले स्थानीयले प्रतिवाद गरेको उनले बताए । उनले भने–‘म एउटा राजनितिकर्मी भएका नाताले नगरको कुनै पनि स्थानमा पुगेर जनताहरुका पीरकर्मा सुन्नुपर्छ र बुझ्नु पर्छ । त्यही शिलशिलामा म त्यहाँ पुगेको हो । त्यहाँ गएर जनताको कुरा सुन्नुका साथै आवश्यक कागजात र प्रमाणका आधारमा जनता आफैले गरेको कार्यलाई साथ मात्र दिएको हो । म गलत कार्यको र जनताको पीरमर्कामा जहिले पनि साथमा हुन्छु , मैले त्यो दिन कुनै जग्गा दलालसंग मिलेर विकास विरोध कार्य गरेको होइन ।’
नगरसभापति पौडेलले केही दिनअघि मात्र इटहरी १७ जयनेपाल टोलमा मेयर चौधरीसंग जोडिएको एक प्रकरणको प्रष्टिकरण दिदा मेयर चौधरी स्वय्मले आफु जग्गा कारोवारी भएको मिडियामा भन्नु भएको छ । वहाँ पो जग्गा दलाली हो त । वहाँको पो त जग्गा दलालीसंग राम्रो सम्बन्ध रहेछ भन्ने कुरा प्रमाणित गराएको बताए ।
मेयर चौधरीले इटहरीको विकासका लागि सुरुका दिनहरुमा चालेका केही कदमहरुको नेपाली कांग्रेसले साथ दिएको जनाउँदै तर उनी सबै अभियानमा एकपछि अर्को गर्दै असफल हुँदै गएको नगरसभापति पौडेलले बताए । विधि प्रकृया र नियम कानुन विपरित गरिएकाले उनका कुनै पनि अभियान सफल नभएको उनको दावी छ ।
मेयर चौधरीले इटहरीको मुख्य चौंकको राजमार्गलाई अन्य स्थानमा झै मापदण्ड अनुसार विस्तार गर्ने कुरामा सरोकारवालाहरुलाई भेला गराएर अहिलेसम्म गहन छलफल गराउन नसकेका कारण आज राजमार्ग खुम्चिएको छ । यसो गर्नुमा वहाँ विकास विरोधी हो की म चाँही विकास विरोधी नी ? नगरसभापति पौडेलले प्रश्न गरेका छन् ।
उनले अब मेयर चौधरीले उदारोमा होइन, नगरवासीलाई नगदमा विकास दिनु पर्ने बताए । उनले मेयरको उदण्डता, अराजकताले इटहरीको संमृद्धिलाई २० औं बर्ष पछाडी धकेलेको बताए । उनले भने–‘सडक निर्माण, कल्भर्ट निर्माण र बिजुली विस्तारको काम त पहिला पनि भएकै बताउँदै भोलिका पुस्ताले मेरो नगरको मेयरले आफ्नो कार्यकालमा यो काम गर्नुभएको हो भनेर छाति फलाएर भन्न सक्ने के के कार्य गर्नुभयो ? मेरो मेयरलाई यहि मिडियाबाट प्रश्न छ ।’
नगरसभापति पौडेलले विधि प्रकृया र नियम भन्दा बाहिर गएर व्यक्तिको निजी सम्पतीमाथि हस्तक्षेप गर्ने अधिकार मेयरलाई नभएको बताए । उनले सुरक्षाकर्मी परिचालन गरेर भएपनि वडा नम्बर १७ र १ संग जोडिएको सडक निर्माणको कार्य गर्ने बताएकाले नेपाली कांग्रेस त्यसका विरुद्ध स्थानीय जनताहरुसंगै सुरक्षाकर्मीहरुको अगाडी उभिन तयार रहेको बताए । उनले ४० होइन, ६० फिटको बाटो बनाएपनि नेपाली कांग्रेसलाई आपत्ति नभएको बताए । तर स्थानीय जनताको चित्त दुखाएर गर्न पाइदैन । छलफल,सहमति र सहकार्यका आधारमा अगाडी बढ्न उनले मेयर चौधरीलाई सुझाव पनि दिएका छन् । उनले मेयर चौधरीले आफुलाई तत्काल नसुधारे त्यसको नतिजा त्यही राम्रो नआउने बताए । मेयरको उदण्ड, अराजक र अपाच्चय शैलीबाट स्वयम् उनलाई र उनको पार्टीलाई ठूलो नोक्सानी भईरहेको कुरा सो पार्टीका जिम्मेवार नेताहरुले पनि राम्रोसंग बुझ्न जरुरी रहेको उनले बताए ।