इटहरीः पशु स्वास्थ्य प्राविधिक नहुँदा समयमा उपचार नपाएर कोशीटप्पु वन्यजन्तु आरक्षमा एक हात्तीको बच्चाको मृत्यु भएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षका लक्ष्मीकली हात्तीले शुक्रबार साँझ ५ बजेतिर जन्माएको थियो । सो बच्चा जन्मिएको केही घण्टामै उपचार नपाएर राती ११ बजे मरेको स्थानीयले बताएका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा हेरचाह गर्ने प्राविधिक नहुँदा हात्तीको बच्चाको ज्यान गएको स्थानीयहरूले दाबी छ । तर आरक्ष प्रशासनले भने जन्मने समयभन्दा अगाडी नै हात्तीले बच्चा जन्माएका कारण बच्चा मरेको दाबी छ ।
पहिला आरक्षमा पशु स्वास्थ्य प्राविधिक थिए । उनको सरुवा भएदेखि अर्का पशु प्राविधिक कोशीटप्पुमा ल्याउन आरक्ष प्रशासनले पहल नगर्दा यस्तो क्ष्क्षति हुन पुगेको स्थानीयको भनाई छ । कोशी टप्पुको आफ्नै प्राविधिक नहुँदा लक्ष्मीकली हात्तीले जन्माएको बच्चाको स्वास्थ्य अवस्था अत्यन्तै कम्जोर हुँदा गाउँका प्राविधिकबाट उपचार गराइएको थियो । जबकि हात्तीको उपचारमा तालिम प्राप्त र अनुभवी प्राविधिकको आवश्यक पर्ने हुन्छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी सन्तोषकुमार भगतले सामान्यतया २२ देखि २४ महिनासम्ममा हात्तीले बच्चा जन्म दिनुपर्नेमा १३ वर्षको लक्ष्मीकलीले १६ महिनामै जन्म दिएकोले अकालमा बच्चाको मृत्यु भएको दावी गरे ।
लकडाउनको समयमा चितवनबाट प्राविधिकको टोली ल्याउने तयारी गरे पनि समय नपुगेकोले बच्चाको अवस्था कम्जोर भएको हुँदा बचाउन नसकिएको उनले बताए । कोशी गाउँपालिकामा प्राविधिक भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट सहयोगका लागि खबर नै नगरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताए ।