काकरभिट्टाः पुर्वी नाका काकरभिट्टामा आएर अलपत्र परेका मानिसहरुबाट शौचालय प्रयोग गरे बापत प्रति ब्यक्ति १० रुपैैया लिने गरेको पाइएको छ ।
नेपालका बिभिन्न ठाउँमा रहेका भारतियहरु आफ्नो देश फर्कन काकरभिट्टामा आएर अलपत्र परेका छन । अलपत्र परेकाहरु काकरभिट्टा बसपार्कमा आएर बसेका छन ।
सयौंको संख्यामा अलपत्र परेकाहरुले मेचीनगर नगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय प्रयोग गर्दा एक पटकमा एक जनालाई १० रुपैंया लिने गरेको भारत रायगञ्जका मिठुलाल चौहानले बताए ।
दिनभरि बस्दा २ देखि ३ पटकसम्म शौचालय जानु पर्ने र प्रत्येक पटकमा १० रुपैया तिर्नु परेकोले आफुहरुलाई समस्या भएको भारत सिलिगुडीका आशुतोस मल्लीकले बताए ।
आफुहरुसंग घर पुग्ने पनि पैसा छैन तर पिसाब गरेको पनि १० रुपैया लिन्छ भन्नु हुन्छ भारत पंश्चीम बंगालको रायगञ्ज जिल्ला घर भएका सुरेश दासलाई कसरी घर पुग्ने भन्ने चिन्ता छ, यता काम पनि गर्न पाईएन पैसा पनि छैन तर यहाँ शौचालय गएको पनि पैसा तिर्नु परेकाले आफुहरु थप समस्यामा परेको भारत सिलगुडी घर भएका पलास मण्डलले गुनासो गरे ।
लकडाउनका कारण काम नभएर घर फर्किएकाहरुसंग बिहान बेलुका छाक टार्ने रकम समेत नभए पछि काकरभिट्टाका स्थानीय युवाहरुको संक्रियतामा सञ्चालित काकरभिट्टा सोसाईटी मार्फत बिहान र बेलुकाको खाना खुवाउने गरिएको छ । तर त्यस्ता अलपत्र मानिसहरु भने नगरपालिकाले नै सञ्चालन गरेको सार्वजनिक शौचालय प्रयोग गर्दा पैसा तिर्नु परेकोले उनीहरु अप्ठ्यारोमा परेका छन ।
यस बिषयमा मेचीनगर नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष ललितबहादुर तामाङसंग कुरा गर्दा अलपत्र मानिसहरुलाई शौचालय प्रयोग गरे बापत पैसा नलिने ब्यवस्था गरेको बताए । उनले कोही कसैले पैसा लिएको भए आफुले तत्काल रोक्ने बताए ।