बेलबारीः घरको आर्थिक अवस्था कमजोर भएपछि सफारी चलाउन बाध्य मोरङको बेलबारी–११ लक्ष्मीमार्गकी १४ वर्षीया सफारी चालक रीता कार्कीलाई बेलबारी नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

स्थानीय लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत उनी बिहान स्कुल जान्थिन् भने दिउँसो घरखर्च टार्न सफारी चलाउँथिन् । पछिल्लो समय उनकै भरमा घरखर्च चल्ने गरेको उनले बताइन् ।

आर्थिक सहयोग प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै पढाइखर्च अभाव भएपछि सफारी चलाएको सार्वजनिक भएपछि उनलाई आर्थिक सहयोगसहित सम्मान गरेको उपमेयर ढाका पराजुलीले बताइन् । उनकी आमा जुना कार्की निगुरो टिपेर बेच्ने काम गर्छिन् ।

नगरपालिका र विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने भएपछि उनले चलाउँदै आएको सफारी बेचेको बताइएको छ ।