धरानः सागवाली दिदी उपनामले परिचित धरान–१५ हिन्दूपतिमार्गकी मृगौलापीडित ५२ वर्षीया जुना विश्वकर्मालाई धरानका दलित समुदायका नेताहरूले घरमै गएर आर्थिक सहयोग प्रदान गरेका छन् ।

धरान उपमहानगरपालिका, दलित विकास समितिको संयोजनमा पीडितलाई सहयोग गरेको समितिका सदस्यसचिव तारा लामगादेले जनाए । जम्मा ७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको बताइएको छ ।

सागसब्जी डुलाएर जीवन यापन गर्ने जुनाको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग गरिएको बताइएको छ । उनको एउटा मृगौलामा खराबी देखिएकाले त्यसलाई नफ्याँके अर्काेमा पनि सङ्क्रमण हुने डाक्टरले जानकारी गराएका छन् । रकम अभावमा उनले सो काम गर्न नसकेकीले सहयोग गरिएको बताइएको छ ।

उनका पति भीमबहादुर बराइलीलाई २०४२ सालमा सेतो मच्छडले टोकेपछि शारीरिक रूपमा अशक्त रहेका हुनाले जुनाले नै उनलाई पाल्नुपर्ने बाध्यता छ ।

धरानको वडा नम्बर १५ ले मृगौला पीडितका लागि नेपाल सरकारबाट उपलब्ध गराउने सहुलियत सेवाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीलाई सिफारिश गरेको जनाएको छ ।