विराटनगरः भारत र नेपाली प्रशासनको समन्वयमा हिजो साँझ जोगबनी नाकाबाट दुई सय ५० जनालाई विराटनगर भित्र्र्याइएको छ ।
जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको जानकारी दिएका छन् । उनले भने,“नजिक पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ ।
तर,टाढाको भए विराटनगरमा निर्मित होल्डिङ सेन्टरमा राखी पुनः नाम अद्यावधिक गरेर पठाइने छ ।” यसरी आएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण गरिने पनि प्रजिअ भुजेलले जानकारी दिएका छन् ।
विराटनगरतर्फ पठाइने मानिसहरुको अवस्था बुझ्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि जोगबनी सीमासम्म पुगेका थिए । पराजुलीले भने,“अलपत्र पर्नु भएका नेपाली नगारिकहरु नेपाल आउनु भएको छ । उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने जिम्मा हामी सबैको हो ।” मेयर पराजुलीले समकक्षी भारतीय अधिकारीहरुसंग पनि यस विषयमा समन्वय भएको सुनाए ।
जोगबनी नाकाबाट आएका मानिसलाई अहिले साँझ विराटनगरको डिएभी स्कुलमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए । भने,“पश्चिमतिरका धेरै नेपाली तीन दिनसम्म साईकल चढेर सीमासम्म आएका रहेछन्।” पराजुलीले विराटनगरमा राखिएकाहरुलाई वास्थ्य परीक्षण गर्ने प्रबन्धसमेत हुने पराजुलीले बताएका छन ।
विराटनगर सीमाको भारतको जोगबनीमा महारष्ट्रसहित विभिन्न राज्यबाट नेपालीहरु आएका थिए ।
यसैगरी जोगबनी क्षेत्रमै बनाइएको क्वारेन्टाइनमा समेत मानिसहरु बसेका थिए । प्रजिअ भुजेलले औपचारिक रुपमा पहिलो चरणमा ती मानिसलाई जोगबनीबाट विराटनगरतर्फ ल्याइएको जानकारी दिए । भारतबाट आउने मानिसलाई राख्नको लागि प्रदेश १ सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टरहरुसमेत बनाएको छ ।
प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले सीमासम्म आइपुगेका र देश आउन चाहने आफ्ना नागरिकलाई त्यसै अलपत्र छाड्न नसकिने बताए । भने,“आउनेहरु सबैको स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पाइए उपचार गर्ने प्रदेश सरकारले प्रबन्ध गरेको छ ।” कार्कीले नाकासम्म आउने मानिसलाई यता ल्याएर होल्डिङ सेन्टरमा राख्ने कामलाई गति दिइने बताए । सरकारले पन्ध्र हजार जना अटाउने गरी यस्ता सेन्टर बनाइरहेको छ । सीमासम्म आएका धेरै मानिसहरु बिहारको ११ औं ठूलो सहर मुंगेरबाट जोगबनीसम्म आईपुगेका छन् ।