विराटनगरः अस्पतालमा विकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरूको सुरक्षा सम्बन्धी १ नम्बर प्रदेशस्तरीय कार्यशाला विराटनगरमा सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजना र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा कार्यशाला भएको थियो । कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले विकिरणबाट बच्न सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. बुद्धिरत्न खड्गी, नोबेल शिक्षण अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रा.डा. सीतारामप्रसाद ब्यहुत लगायतले पनि विकिरणबाट बच्न सवै अस्पतालहरूमा सावधानीको खाँचो रहेको जनाए ।
विकिरण सुरक्षासम्बन्धी अभ्यास राजधानीका अस्पतालहरूमा भइरहे पनि मोफसलका अस्पतालहरूमा भने कमै मात्रामा यो अभ्यास हुने गरेको बताइएको छ । अस्पतालमा प्रयोग हुने एक्सरे, म्यामोग्राफी, सिटीस्क्यान, क्याथल्याब, सिआर्म लगायतबाट मानव स्वास्थ्यलाई खतरा पुग्ने विकिरण निस्कने गर्दछ ।

यी मेसिन प्रयोग गर्ने कर्मचारीहरूले विकिरणको मात्रा मापनका लागि टिएलडी ब्याच लगाउनुपर्छ । सोही ब्याच लगाउने अभ्यासलाई १ नम्बर प्रदेशमा पनि बिस्तार गर्न कार्यशाला गरिएको हो ।

कार्यक्रममा नोबेल अस्पतालका डा. तेजेन्द्र कार्की, नास्टका डा. बुद्धराम शाह र वीर अस्पतालका डा. कञ्चनप्रसाद अधिकारीले विकिरण सुरक्षा र सावधानीका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा १ नम्बर प्रदेशका विभिन्न अस्पतालका झण्डै १ सय जना चिकित्सक सहभागी थिए ।

Radiation-Protection-Program-Photo-(1)