भद्रपुरः जंगली हात्तिको आक्रमणबाट गए राती झापाको कचनकवल गाउँपालिका–७ मा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मृत्यु हुनेमा अन्दाजी ८० वर्षीय वृखबहादुर राई रहेका छन् । शनिबार साँझ घर नजिकैको दिपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्ध राईलाई हात्तीले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। राई शवलाई मेची अञ्चल अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आफन्तजनलाई जिम्मा लगाइने जनाइएको छ। यसअघि पनि कचनकवलमा हात्तीको आक्रमण परी एकजनाको मृत्यु भएको थियो।