धरानः दुवै मृगौला खराब भई घरैमा डायलोसिस गराइरहेका किरात राई पत्रकार सङ्घ सुनसरीका अध्यक्ष प्रवीण राईलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

लिम्बू पत्रकार सङ्घ सुनसरीले आर्थिक सहयोग सङ्कलन गरी पत्रकार राईलाई आज प्रदान गरेको हो । सङ्घका अध्यक्ष कुशल लिम्बू कुरुम्बाङको नेतृत्वमा सङ्कलन गरिएको ५० हजार ७ सय ५ रुपैयाँ धरान–९ स्थित पत्रकार राईको घरैमा पुगेर हस्तान्तरण गरिएको सचिव मेरिना तुम्साले बताइन् ।

उक्त रकम सङ्घका अध्यक्ष लिम्बू, संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार हर्ष सुब्बालगायतले पत्रकार राई र उनकी श्रीमती अन्दिला राईलाई हस्तान्तरण गरेका थिए ।

पत्रकार राईको उपचारमा केही रकम सहयोग गर्नको लागि अभियान चलाएर सङ्कलन गरिएको रकम प्रदान गरएको अध्यक्ष लिम्बूले बताए । ‘प्रवीण दाजुलाई हाम्रो संस्थाबाट पनि केही सहयोग गरौँ भनेर सहयोग गरेका हाँै,’ उनले भने । उनका अनुसार धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबोले २० हजार, बेलायतबाट मोडल सिर्जना राईले १० हजार र झापाबाट कुमार सिंह राईले ५ हजार रुपैयाँ सहयोग गरेर अभियानमा साथ दिएका थिए ।

यसैगरी, लिम्बू पत्रकार र विभिन्न सङ्घसंस्थाले पनि रकम सहयोग गरेका थिए । राई १ महिनादेखि घरैमा दिनमा ३ पटक डायलोसिस गराइरहेका छन् । सहयोग रकम हस्तानान्तरण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य सङ्गीता सुब्बा, सल्लाहकारद्वय निलिफा सुब्बा र स्वर्णिमहाङ फोम्बो तथा सचिव मेरिना तुम्सालगायतको सहभागिता रहेको थियो ।