झापाः झापाको मेचीनगर नगरपालिकाले सम्भावित कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नगरमा कुष्ठरोगीका नयाँ बिरामी धमाधम फेला पर्न थालेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकला राईले स्वास्थ्यकर्मी कुष्ठरोगी खोज्दै गाउँगाउँ पस्न थालेपछि नगरका विभिन्न वडामा १६ जना नयाँ रोगी फेला परेको बताइन् । उनका अनुसार सामाजिक भेदभावका कारण कुष्ठरोगी खुलेरै उपचारका लागि नपुग्ने गरेका कारण मानिस अपाङ्ग हुने गरेका छन् ।
स्वास्थ्य शाखाका अनुसार सबैभन्दा बढी वडा नम्बर १० को धुलाबारी क्षेत्रमा ७ जना कुष्ठरोगी रहेका छन् । ५ जनामा खतरनाक एमबी र २ जनामा सामान्य खालको नसर्ने प्युसी प्यासीलरी फेला परेको छ ।
यसैगरी १४ नम्बर वडाको दुहागढी क्षेत्रमा २ जनामा एमबी, १५ नम्बर वडाको ज्यामिरगढी आसपासमा ३ जनामा एमबी, बाहुनडाँगी क्षेत्रमा २ जनामा एमबी र १ जनामा पीबी तथा काँकरभिट्टा क्षेत्रमा १ जनामा एमबी फेला परेको संयोजक राईले जानकारी दिइन् ।
राज्यले १० हजार जनसङ्ख्यामा १ जना कुष्ठरोगी भए मात्र त्यसलाई निवारणको अवस्था भन्ने गरेको छ । तर, मेचीनगरमा त्यो भने हुन नसकेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवको भनाइ छ ।
स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाएको यादवले जानकारी दिए । घरघरै पुगेर बिरामी खोज्नका लागि नगरपालिकाले जेठ २३, २४, २५ र २६ गते ४ दर्जनभन्दा बढी सङ्ख्यामा स्वयम्सेवी कार्यकर्तालाई तालिम दिएको थियो । तालिम पाएका तिनै व्यक्तिले कुष्ठरोगीको खोजी गरेका हुन् । टोलीले शङ्का लागेमा शरीरको पुरै जाँच गरेर कुष्ठरोगको लक्षण पहिल्याउने गरेका थिए ।
एक व्यविक्तबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने तर मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको स्वास्थ्य संयोजक राई बताउँछिन् । शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, घाउमा घोच्दा समेत नदुख्नु आदि यस रोगका लक्षण हुन् ।
‘कुष्ठरोगी भन्नेबित्तिकै पहिलापहिला हेलाको भावले हेरिन्थ्यो’, राईले भनिन्, ‘त्यही भएर हाम्रो समाजमा कुष्ठरोगीको उपचार समयमै हुन सकेको थिएन । पछिल्लो समयमा मानिसमा थोरै भए पनि चेतना आएको छ । चेतनासँगै यस्तो अन्धविश्वासको अन्त्य भएको छ । मानिसको शरीरमा कुनै पनि दाग देखिने बित्तिकै उपचारका लागि आइहाल्ने गरेका छन् ।’ समयमै उपचार गर्ने हो भने यसबाट बच्न सकिने स्वास्थ्यकर्मी रामनारायण यादवको भनाइ छ ।
लुकाएर राख्ने र खुलेर उपचारका लागि नआउने कारणले मानिस जिन्दगीभर अपाङ्ग भएर बाँच्न बाध्य हुने स्वास्थ्यकर्मीको भनाइ छ । अहिले पनि धेरै कुष्ठरोगीहरू मन्दिरमा बसेको राईको भनाइ छ । समयमै उपचार नगर्ने अन्तिम चरणमा मात्र उपचार खोज्ने कारणले जीवनभरका लागि शारीरिक अपाङ्गता भएर धेरै मानिस बाँच्ने गरेको उनको भनाइ छ ।
बसाइँसराइँ, खुला सिमाना, बिरामी अङ्गभङ्ग भएपछि मात्र उपचारका लागि आउनेलगायतका कारण कुष्ठरोग नियन्त्रण कार्यक्रम प्रभावकारी बन्न नसकेको तथा कुष्ठरोग निवारणमा चुनौती बन्ने गरेको उनले बताइन् ।
यसका साथै मानिसमा अझसम्म कुष्ठरोगीलाई हेर्ने दृष्टिकोण फरक रहेकाले यसलाई कुनै जुनीको पाप हो भन्ने गरेको उनले बताइन् । नकारात्मक शैलीमा समाजले हेर्ने हुनाले धेरै मानिस खुलेर उपचारका लागि स्वास्थ्य केन्द्रमा जान समेत हिच्किचाउने गर्छन् । जसका कारण पनि नगरमा कुष्ठरोगीको सङ्ख्या बढिरहेको छ ।
स्वास्थ्य अधिकारीका अनुसार बसाइँसराइँ गरेर आउने दर बढी हुँदा, भारतीय बजारमा रोजगारी गरेर फर्कने तथा आफन्तहरूसँगको भेटघाटमा आउने मानिसका कारण झापालगायतका केही जिल्लामा कुष्ठरोग निवारण हुन नसकेको र वर्षेनी रोगीको सङ्ख्या बढ्ने गरेको गरेको स्वास्थ्य अधिकारीको भनाइ छ । विश्वमा कुष्ठरोगीको सङ्ख्या जति छ त्यसको आधाभन्दा बढी भारतमै मात्र रहेको ती अधिकारीहरू बताउँछन् ।
सरकारले सन् २०२० सम्ममा देशभरबाट कुष्ठरोग निवारण गर्ने उद्देश्य राखेको भए पनि देशमा तराईका जिल्लामा हरेक वर्ष नयाँ कुष्ठरोगी फेला पर्ने क्रम भने रोकिएको छैन ।
नेपाली सरकारी स्वास्थ्य अधिकारीका अनुसार भारतमा कुष्ठरोग उन्मूलन नभएसम्म नेपालमा दीर्घकालीन रूपमा उन्मूलन हुन सक्दैन । सरकारले २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको छ । तर, अझै पनि नेपालका १८ वटा जिल्लामा रोग निवारण भएको छैन ।
झापामा कुष्ठरोग प्रभावितको सङ्ख्या प्रति दशहजारमा १ सय ७७ प्रतिशत रहेको समाचार स्रोतको भनाइ छ ।
समयमै उपचार गरे यो रोग निको हुने र अङ्गभङ्ग हुनबाट बच्न सक्ने भएपछि सरकारले सरकारी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधी वितरण गर्दै आएको छ । तर, स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार अहिले मुलुकमा बर्सेनी देखिने नयाँ कुष्ठरोगीमध्ये ५ प्रतिशतमा शारीरिक अपाङ्गता हुने गरेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा बर्सेनी करिब ३ हजारभन्दा बढी नयाँ कुष्ठरोगी थपिने गरेका छन् ।
विभिन्न कारणले उपचारमा नपुग्दा नेपालमा वर्षेनी १ सय भन्दा कुष्ठरोगी शरीरका विभिन्न भाग झरेर अपाङ्ग हुने गरेका छन् । विभिन्न प्रकारका अशक्ततासँगै उनीहरू जिउन बाध्य भएको विभागले जनाएको छ ।
विभागका अनुसार बाँके नेपालकै सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्ला हो । त्यसपछि बर्दियमा धेरै कुष्ठरोगी रहेका छन् । विभागका अनुसार गत आर्थिक वर्षमा नेपालमा ३ हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । भारतबाट आएर औषधि गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
झापा जिल्लामा ५ सय बढीले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने संयोजक राईले जनाएकी छिन् ।