विराटनगरः नोबेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक डा. सुनिल शर्माले मोरङको कानेपोखरीका २ वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गरेका छन् ।
कानेपोखरी–७ मा रहेको जनकल्याण माध्यमिक विद्यालय र पच्चीसबिघेको शान्तिदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् ।
एक कार्यक्रमका बीच डा. शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । प्रत्येक विद्यार्थीलाई आधा दर्जन कलम, आधा दर्जन कपी र विद्यालय पोशाक प्रदान गरिएको थियो । शर्माले विद्यालयलाई प्राथमिक उपचार सामग्री पनि हस्तान्तरण गरेका छन् ।
पोशाक वितरण कार्यक्रममा बोल्दै शर्माले विपन्न विद्यार्थीको पढाइलाई सहज बनाउन शैक्षिक सामग्री वितरण गरिएको बताए । उनले विपन्न विद्यार्थीहरूलाई आफूले सक्दो सहयोग गर्ने पनि बताए ।
शर्माले जनकल्याणका सबै विद्यार्थीलाई नोबेल अस्पतालमा निःशुल्क दाँत परीक्षण गर्ने र सफा गर्ने व्यवस्था मिलाउने बताए ।
शर्माले यसअघि सुन्दरहरैचा–११ तिनमोहरीको आदर्श आधारभूत विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।