धरानः संविधान दिवस २०७५ को अवसरमा धरान उपमहानगरपालिकाद्वारा आयोजित ‘अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता’मा युरेका आवासीय उच्च माविका आयुष पाण्डे पहिलो भएका छन् ।
‘संविधानमा मौलिक अधिकार र नागरिकको कर्तव्यबीचको सम्बन्ध’ विषयक वक्तृत्वकला प्रतियोगितामा २० जना प्रतिष्पर्धीलाई पछि पार्दै विजेता बनेका पाण्डेले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।
यसैगरी, विष्णु मेमोरियल उच्च माविकी एलिजा वस्ती दोस्रो बन्दा डिपोट उच्च माविकी प्रतीक्षा श्रेष्ठ तेस्रो बनिन् । उनीहरूले क्रमशः १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाणपत्र पाए । यसैगरी, ज्ञानचक्षु स्कुलका दृष्टिविहीन विद्यार्थी गगन आले चौथो बन्दै नगद ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।
विजेताहरूलाई कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदी, निमित्त प्रशासकीय अधिकृत पिताम्बर गौतमलगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा प्रा.डा. भीम खतिवडा, सहप्राध्यापक हरिप्रसाद दाहाल र अधिवक्ता एवं उपप्राध्यापक प्रकाश राई निर्णायक रहेका थिए ।
विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने अवसरको रूपमा यो प्रतियोगिताको आयोजना गरिएको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन् । प्रतियोगितामा धरानका निजी तथा सामुदायिक विद्यालयका २१ जना विद्यार्थी सहभागी थिए ।