इटहरीः संविधान दिवसको अवसर पारेर जनता मावि इटहरीका विद्यार्थीले उदाहरणीय काम गरेका छन् ।
आफ्नो खाजा खर्चको रकम कटौती गरेर उनीहरूले निम्न आय भएका अभिभावकका सन्तानलाई शैक्षिक सामग्री दिएका छन् । अढाइ दशकदेखि ट्याङग्रा खोला छेउमा निःशुल्क ट्युसन पढाउँदै आएका चन्द्र भण्डारीसँग ट्युसन पढ्ने विद्यार्थीलाई उनीहरूले शैक्षिक सामग्री वितरण गरेका हुन् ।
जनता उच्च माविको कक्षा ११ का विद्यार्थीले उनीहरूलाई कापी, कलम, भुइँमा ओछ्याउने म्याट, फ्रुटी र बिस्कुट वितरण गरेका हुन् । जनता मावि कक्षा ११ को ब्यवस्थापन विद्यार्थी अनिसा लामिछानेका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी दङ्गालले ती सामग्री वितरण गरेका थिए । शिक्षक भण्डारीका अनुसार हाल उनीसँग ३८ जना विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।