झापाः झापामा धान मिलमा आगलागी हुँदा १५ लाखको क्षति भएको छ । झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा रु १४ लाख ७८ हजार बराबरको क्षति भएको हो ।
उनका अनुसार चट्याङ परी विद्युत्को तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई कच्ची घरसमेत जलेर नष्ट भएको छ ।
आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस