धरानः आमाको जन्मदिनमा सामान किन्न बजार निस्केका धरानका २४ बर्षीय युवकको हिजो साँझ मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । हिजो साँझ धरानको दुर्गा चौंकमा साँझ साढे ६ बजेको समयमा
को ३४ प १०३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालकको धरान १६ निवासी पार्वती मार्गका २४ वर्षिय विशाल घिसिङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पूर्वबाट पश्चिम तिर जाँदै गरेको मोटरसाइकल बाटोदेखि दक्षिण तिरको पर्खालमा ठोकिएको इलाका प्रहरी कार्यलय धरानका इन्स्पेक्टर हेमराज ओलीले बताए । दुर्घटना स्थलको प्रकृति अनुसार मोटरसाईकल तिब्र गतिको कारण सवारी अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए । दुर्घटनाको कारण मोटरसाइकलको अगाडिको भागमा पूर्ण रूपमा क्षती भएको छ । गम्भीर घाइते भएका उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

धरान १८ का वडाध्यक्ष प्रवीण राईका अनुसार मृतकको आमाको जन्मदिनका लागि सामान किन्न जाँदै गर्दा दुर्गा चौक दुर्घटनामा परेको हो । पर्खालमा ठोक्किएका कारण मृतकको घाँटीमा पर्खालको काँटीले समेत चोट पुर्याएको राईले बताए । मृतक नेपाली काँग्रेसका सुनसरी जिल्ला समिति सदस्य माधव घिसिङका एक्लो छोरा रहेको वडा अध्यक्ष राईले बताए ।