इटहरीः इटहरीका सडक क्षेत्रमै बस्ने सडक मानवहरु(नागरिक) जथाभावी हिड्डुल गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमको एकल पहलमा उनिहरुलाई पनि सुरक्षित स्थानमा राखेर व्यवस्थापन गरिएको छ ।
उपमेयर गौतमलाई नगरको बजेट बनाउने अधिकार भएपनि खर्च गर्ने अधिकार नभएकाले इटहरी सकडमा जताजतै हिड्ने, सुत्ने र मागी खाने सडक मानवहरुलाई इटहरीका सामाजसेवी मनहरुसंग आवश्यक सहयोग मागेर उपमेयर गौतमले उनिहरुको व्यवस्थापन गरेकी हुन् ।
इटहरीको जनता माविमा उनिहरुलाई व्यवस्थापन गरिएको छ । सो स्थानमा हाल २८ जना बसिरहेका छन् । उनीहरुका लागि खानका लागि दाल चमाल , भाडाकुडा र साँगसब्जी मात्रै नभई सुत्नका लागि म्याटदेखि लिएर पकाउने दाउरा, हात धुने साबुन, कपडा धुने सर्फ लगायतका सामाग्री सहयोगी मनहरुसंग मागेरै व्यवस्थापन गरेको उपमेयर गौतमले गर्दै आएकी छन् ।
उनका अनुसार दुई दिनअघि मात्र राती ८ बजे सो स्थानमा व्यवस्थापन गरिएका २८ जनालाई खाना पकाएर खानका लागि भाडा सानो भएपछि एक आपसमा झगडा भएको खबर आएको र राती नै गएर अर्को एक भाडाको व्यवस्थापन गरिएको थियो ।
उनले भनिन् –‘राती सो स्थानबाट फोन आयो , म तत्कालै पुगे । भाडा सानो भएर झगडा गरेछन् । रातको समयमा कहाँबाट भाडा ल्याउने ? त्यही पनि एक पसलमा गए । पसलले यति राती के को लागि भन्नु भयो , मैले सबै कुरा बताएपछि एउटा भाडा त्यसै दिएर मानवीय कार्यमा साथ दिनुभयो । अनि लगेर उनिहरुलाई दिए , सबै जना खुसी भए । एक जनप्रतिनिधि भएको हैसियतमा उनिहरुको खुसीमा मैले पनि मेरो खुसी त्यही भेटे ।’
जनता माविमा व्यवस्थापन गरिएको २८ जना सडकमा हिड्ने नागरिकहरुलाई ५ वटा समूहमा विभाजन गरि खाना र बस्नको व्यवस्थापन गरिएको उपमेयर गौतमले बताइन् । ५ समूहलाई नै अलग अलग किचनको व्यवस्थापन गरिदिएको उनले जनाइन् । इटहरीका व्यवसायी शम्भु थापाले निःशुल्क एक ट्याक्टर दाउरा दिएर लकडाउन भरी सडक नागरिकहरुका लागि पकाई खाने कार्यमा सहयोग गरेको उनले बताइन् ।
उनले भनिन् –‘इटहरीकै नागरिक जो सडक मानव भएर हिड्छन र बस्छन् उनिहरुलाई बचाउनका लागि इटहरीबाटै समाजसेवी मनहरुबाट सहयोग पाएकोमा मलाई खुसी लागेको छ । नगरवासीको सेवागर्न पाउँदा आनन्द लागेको छ ।’