विराटनगर/ मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।
बुधबार राती १० बजे खुल्ला स्थानमै शौच गर्न निस्कनु भएका भगतलाई सर्पले टोकेको थियो । राती सर्पले टोकेपछि भगतलाई कोशी अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
अञ्चल अस्पतालमा उपचार संभव नभएपछि नोबेल अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा राती १ बजे वडा अध्यक्ष भगतको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार वडा अध्यक्ष भगतले आफूलाई सर्पले टोकेका भन्ने कुरा सुरुमै यकिन नगरेका कारण उपचारमा लैजान ढिलो भएकाले मृत्यु भएको हो । भगतलाई एक्कासी समस्या भएपछि परिवारले प्रहरीलाई नै खबर गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।