इटहरीः संविधान दिवसको अवसर पारी सरस्वती सतन माध्यमिक विद्यालय इटहरीले विविध कार्यक्रमको आयोजना गरेको छ ।
संविधान दिवस मनाउने क्रममा विद्यालयले हिजो विद्यालय परिसर र विद्यालय आसपासको क्षेत्रमा सरसफाइ गरेको थियो । साँझमा दीपावली गरेको विद्यालयले आज बिहान स्वदेशी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।
आज दिउँसो ‘हाम्रो सविधानमा महिलाको अधिकार’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा १५ जना विद्यार्थीले भाग लिएका थिए । वक्तृत्वकला कार्यक्रम पनि स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रायोजनमा भएको विद्यालयले जनाएको छ ।
८, ९ र १० कक्षाका विद्यार्थीले भाग लिएको प्रतियोगितामा अनुषा पौडेल तोहिद हुसेन, प्रनिसा अधिकारी र अनु अधिकारीले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार हात पारेका थिए ।
कक्षा ११ का विद्यार्थीबीच पनि सोही शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा छात्रतर्फ प्रवीण अधिकारी र छात्रातर्फ दीक्षा चौधरी पुरस्कृत भएका थिए ।
विद्यालयका प्रधानाध्यापक वासुदेव कर्णको अध्यक्षता तथा स्वदेशी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम शिक्षक मुकेशकुमार चौधरीले सञ्चालन गरेका थिए ।