धरानः लकडाउनका कारण बिहान बेलुकाको छाँक कसरी टार्ने भन्ने पिरले सताइएका धरान उपमहानगरवासीहरुले खानेपानीको चरम अभाव झेलिरहनु परेको छ । पानी पर्याप्त भएपनि धरानबासीले यस्तो समस्या झेलिरहनु परेको हो ।
कोरोनाको सन्त्रासमा घरमै बस्नु पर्ने बाध्यता छ । सो बाध्यताका बीचमा हात धुने पानीका लागि पनि भौतारिनुपरेको छ । सुख्खा मौसम शुरु भए सँगै बर्षेनी हुने खानेपानीको समस्याले अहिले धरानवासी पिडित बनेका छन् । खानेपानीको हाहाकार हुन थालेको छ । खाद्यान्न देखि हरेक वस्तुको अभाव भोगिरहेको धराने जनता पुनः खानेपानीको अभावले पिरोलिएको छन् ।
लकडाउनको समयमा अत्यावश्यक खाद्य सामाग्री सहज रुपमा उपलब्ध हुन सकेको छैन् । खानेपानीका लागि पनि तछाडमछाड नै गर्नुपर्ने अवश्था छ । खानेपानीको अभाव हुन थाले पछि खानेपानी सस्थान शाखा धरानले खानेपानी ट्यांकरबाट वितरण गर्न थालेको छ ।
दुई दिनमा एक पटक आउने पानीका लागि पनि स्थानीयहरु तछाडमछाड गर्नु पर्ने अवश्था छ । खानेपानी थाप्ने भिडका कारण कोरोनाको संक्रमण फैलने हो कि भन्ने सन्त्रास पनि स्थानीयमा छाएको छ तर पनि उनीहरु बाध्य छन् ।
यस्तो अवस्थामा पनि सहज आपुर्तिका लागि स्थानीय सरकारले खानेपानी जस्तो अति आवश्यक कुरामा ध्यान दिन नसकेको स्थानीय सुमन राईको भनाई छ ।
धरानमा दैनिक ३ करोड लिटर पानीको आवश्यक्ता पर्ने गर्छ । सुख्खा मौसममा एक करोड ५० लाख लिटर मात्रै पानीको आपूर्ति हुने गरेको छ । त्यसैले पनि धरानमा चौबिसै घण्टा खानेपानीको सहजताका लागि सन २०१२ देखि एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा खानेपानी परियोजना संचालन भएको थियो ।५ वर्ष भित्रमा आयोजना सम्पन्न भइ धरानलाई चौबिसै घण्टा पानी वितरण गर्ने लक्ष्य रहेको थियो तर अहिले सम्म पनि परियोजना पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन् भने सम्पन्न भएका स्थानहरुमा पनि खानेपानी वितरण गर्न सकेको छैन् ।
परियोजना संचालन गर्न धरान उपमहानगरपालिकाको स्वामित्व रहने गरी धरान खानेपानी बोर्ड स्थापना भएको छ । अहिले धरानमा खानेपानी वितरणका लागि दुई संस्थाहरु छन् । एउटा खानेपानी बोर्ड र अर्को नेपाल खानेपानी संस्थान । दुवैको तारतम्य मिल्न नसक्दा धराने जनताले खानेपानी भएर पनि समस्या भोग्नु परेको छ । कोरोनाका कारण होम क्वारेन्टाइनमा बसेका सर्वसाधारणहरु खानेपानी पनि नपाउँदा कष्टकर दैनिकी विताइरहेका छन् ।
सरकारले भिडभाड नहुने, सामाजिक दुरी कायम राख्ने उर्दी जारी गर्दै लकडाउनको घोषणा गरेको हो, तर खानेपानी थाप्न स्थानीयहरुले लकडाउनको उल्लंघन नै गर्नुपर्ने अवश्था छ । होडबाजी नै नगरी खानेपानी थाप्न नपाइने भएकाले पनि कोरोनाको संक्रमणको वेवास्ता गर्दै पानी थाप्नु परेको धरान १५ की लक्ष्मी राई बताउँछिन् ।
कोरोनाबाट त्रसित अवश्थामा स्थानीय सरकारले खानेपानी सहज आपूर्ति गर्नुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘कोरोनाको डर त छ नि के गर्नु ढिलो गर्यो भने, पानीनै पाइन्दैन् ।’
पछिल्लो समय प्रदेश नम्बर १ मा पनि कोरोनाको संक्रमण देखिए पछि अझै स्थानीयहरु त्रसित छन् । केही दिन अघि उदयपुरको भुल्केमा १२ जनामा संक्रमण पुष्टि भए पछि त झन धरान चिन्तित बनेको छ । चारैतिरको नाका बन्द गरिएको छ, लकडाउनलाई थप कडाई गरिएको छ ।