झापाः झापामा आज दुर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज र ट्राफिक प्रहरीसँगै स्थानीय आयोजकको भूमिका नवीन युवा क्लबले निर्वाह गरेको थियो । महाअभियानमा जिल्लाका ५० भन्दा बढी सक्रिय सामाजिक संस्थाले सहभागिता जनाएका थिए ।

महाअभियानमा १ हजार सवारी साधनका चालकलाई खादा र अबिर लगाएर सम्मान गर्दै चकलेट प्रदान गरिएको थियो । त्यस क्रममा सबै चालकलाई ‘आजका दिनसम्म राम्रोसँग गाडी चलाउनुभएकोमा धन्यवाद छ । अबका दिनमा अझ जिम्मेवारीपूर्वक गाडी चलाएर दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउनुहुन अनुरोध छ’, भनी सम्मानसहित सकारात्मक प्रेरणा दिइएको थियो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको महाअभियानको उद्घाटन १ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले गरेका थिए । प्रमुख अतिथि रिजालले सो अवसरमा चालकहरूलाई सम्मान गर्दै गाडीमा स्टिकर समेत टाँसेका थिए । चेतनामूलक विभिन्न नारा लेखिएका ३ हजार स्टीकर टाँस्नुका साथै ५० हजार पर्चा वितरण गरिएको थियो ।

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले दुर्घटना न्यूनीकरणका लागि जनचेतना र सकारात्मक सन्देश प्रवाह गर्न यो महाअभियान प्रभावकारी भएको बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीमप्रसाद ढकाल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले समेत महाअभियान उत्कृष्ट भएको भनी प्रशंसा गरेका थिए ।

कविता प्रतियोगिता पनि
त्यस्तै, महाअभियानअन्तर्गत नै दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक सडक कविता प्रतियोगिता समेत सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा विवेक निशानी पहिलो, भिजन गुरागाई दोस्रो तथा प्रकृति शर्मा र गृष्मावेश प्रसाईं तेस्रो भएका थिए । ३२ जनाले सहभागिता जनाएको कविता प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनीहरू सबैले सवारी दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कविता प्रस्तुत गरेका थिए । त्यस्तै विराट किराती र सुनिता तामाङले अप्रतियोगी रचना वाचन गरेका थिए ।
कार्यक्रममा दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठले जेसीआई मिसन भिजन वाचन, सह संयोजक मनोज साहले आस्था वाचन र कविता प्रतियोगिताका संयोजक दिवाकरलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विनोद पाण्डे र शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

road (2)

दुर्घटनाको अवस्था ः
मानिसको मृत्युको मुख्य कारणमा अहिले सवारी दुर्घटना बनेको छ । विश्वमा सरदर हरेक ६ सेकेण्डमा सवारी दुर्घटनाबाट १ जनाको ज्यान गइरहेको बताइन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा १ वर्षमा २ देखि ५ करोड मानिस सवारी दुर्घटनाकै कारण घाइते हुने गरेका छन् । अति कम विकसित देशले सवारी दुर्घटनाको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।
नेपालमा मानिसको मृत्युको चौथो कारण र अपाङ्गताको तेस्रो कारण सवारी दुर्घटना बनिरहेको छ । नेपालमा मानिसको मृत्युमध्ये ७ प्रतिशत मृत्यु सडक दुर्घटनाकै कारण हुने गरेको, मानवीय क्षति बाहेक वर्षमा एक अर्ब आर्थिक क्षति हुने गरेको अनि घाइते भएपछि देखिने मनोसामाजिक असरको अवस्था झन् दर्दनाक रहेको पाइएको छ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा दैनिक ६ जनाले यसै कारण ज्यान गुमाए ।
नेपालमा वार्षिक सरदर २ हजार मानिसको मृत्यु सवारी दुर्घटनाका कारण भइरहेको छ । गत आर्थिक वर्षमा झापामा मात्र १ सय ५ जनाको मृत्यु सवारी दुर्घटनाबाटै भयो । दुर्घटनामा परेका सवारी साधनलाई तुलना गर्ने हो भने अधिकांश दुई पाङ्ग्रे रहेका छन् ।

दुर्घटनामा पर्नेमा युवा
सवारी दुर्घटनाबाट मृत्यु हुनेमा अधिकांश युवा रहेका छन् । अध्ययन अनुसार सवारी दुर्घटनाका कारण मृत्युवरण गर्नेमा अधिकांश १५–४० वर्ष उमेर समूहका रहेको पाइएको छ । सडकको दुरावस्था, सडक प्रयोगकर्ताको लापर्वाही, सवारी साधनको खराब अवस्था र सडक नियमको उल्लङ्घन नै दुर्घटनाका मुख्य कारण बनेको देखिन्छ ।

ट्राफिक प्रहरीका अनुसार नेपालमा सवारी दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही रहेको छ । दुर्घटनाका कारणमध्ये चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत छ । दुर्घटनाको कारण मूलतः चालकको लापर्वाही नै देखिएकाले सवारी चालकलाई जिम्मेवार बनाउन सकारात्मक विधि अवलम्बन गर्नु जरुरी छ । यही यथार्थ मनन गरी महाअभियान सञ्चालन गरिएको बताइएको छ ।