इटहरीः लकडाउनका बेला दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक वर्ग, अति विपन्न परिवार, एकल महिला, साहारा विहिन महिला तथा अनाथ बालबालिका बसोबास गर्ने स्थानमा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले आइतवार दिनभरी हरिया साँग सब्जी पुर्याएकी छन् । उनले आफ्नै गाडीमा हालेर साँग, सब्जी पुर्याएकी हुन् । लकडाउन थप कडा पार्नु पर्ने भएकाले बजारसम्म आएर खरिद गर्न नसक्ने बर्ग भएकाले उनिहरुलाई बसेकै स्थानसम्म साँग सब्जीको व्यवस्था गर्ने उद्धेश्यले आफ्नो गाडीमा हालेर पुर्याएको उपमेयर गौतमले जानकारी दिएकी छन् । साँग सब्जी नभएर ठूलो समस्या परेको गुनासो आएपछि आफै सक्रिय भएर ती सामाग्री पुर्याएको उनको भनाई छ ।
उनका अनुसार हिंसा पिडित महिला तथा बालबालिकाहरुले आश्रय लिईरहेको मायाघर, अनाथ बालबालिकाहरुले आश्रय लिइरेको अनाथ आश्रम र जनता माविसमा बसोबास गरिरहेका सडक बालबालिका तथा बयस्कहरु र भ्वाइस अफ चिल्ड्रेनलाई एक साता पुग्ने साँग सब्जी पुर्याएको हो । आलु ,प्याज,बन्दा,भान्टा रायो,लट्टे,मटरकोसा,मुला,काक्रा,गाँजर, सलगम टमाटर ,खोर्सानी ,अदुवा आदि तरकारीका सामाग्रीहरु वितरण गरिएको उपमेयर गौतमले बताइन् ।