मैले राती तीन बजेको अलार्म सेट गरेर सुतेकी थिएँ । तीन बजेको अलार्म सेट गरे पनि पौने तीनबजे नै निद्राले छोड्यो । मनमा अनेक कुराहरु आएर सपना पनि त्रासदीपूर्ण हुन्छ ।

कहिले ठूलो अजिंगरले निल्न लागेको देख्छु । त कहिले बाढीले सबै शहर नै डुबाउन लागेको हुन्छ । म आत्तिँदै उठ्छु । म अरुबेला पनि अलि बढी नै सम्वेदनशील छु । सानातिना घटनाले पनि मलाई सारै विचलित गराउँछ । निद्रा नै बिथोलिन्छ।

२०१६मा क्यानडाको फोर्ट म्याक्मेरीमा भएको डढेलोले हप्तौं सम्म सुत्न सकिनँ । त्यस्तै २०१९ मा अस्ट्रेलियामा विनाशकारी डढेलो लाग्यो । लाखौँ जंगली जनावरहरु मरे ।

ती जंगली जनावरहरुको कारुणिक मृत्यु देख्दा कैयौं रातहरु अनिद्रामै बिते । त्यही भएर पनि मेरो श्रीमानले मलाई धेरै समाचारहरु नहेर्न भन्नुहुन्छ । तर आफ्नो मन माने पो । संसारमा के हुँदैछ भन्ने जान्नलाई नशाजस्तै भैसकेको छ । कती गर्दा पनि यो मन मान्दैन । मनलाई नियन्त्रण गर्नै सक्दिन ।

अहिले फेरि कोरोनाभाइरस कोभिड–१९ले संसारलाई सताएको छ । यो भन्दा पहिले संसारै एकै पटक पीडित भएको सुनेको पनि थिएन । अहिले त आफैँ यस्तो भयावह स्थितिको सामना गर्नु परेको छ ।

आँखा चिम्लिनासाथ आफ्नै अगाडि ती मृतकहरुका लाशहरु सेतो प्लास्टिक जस्तो बस्तुले बेरिएर आउन थाल्छन् । यस्तो अवस्थामा म कसरी निदाउन सक्छु र ? निदाउन हरेक प्रयासहरु गर्छु । तातो दूध पिएर सुत्छु ।

एक देखि सय र सयबाट घटाउँदै पटकौ एक सम्म ल्याउँछु । जाइदानाको धुलो तातो दुधमा घोलेर पिउँछु । सहकर्मी डाक्टरहरुको सल्लाह र सहयोगमा निद्रा लगाउने औषधीहरु पनि सेवन गरेँ ।

मलाई थाहा छ । मैले धेरै औषधी पनि खानु हुँदैन । पेटमा भएको बच्चालाई असर गर्छ । अनिद्राले आँखाका वरिपरि कालो दाग बसिसकेको छ । आँखा राता भएका छन् । प्रायः टाउको दुखिरहन्छ । मलाई थाहा छ, यो सबै अनिद्राकै कारणबाट भएको हो ।

म सुत्ने छुट्टै कोठा छ । मेरो अढाई बर्षको छोरा मेरो काखमा आएर बस्न नपाएको दशौं दिन भइ सक्यो । ढोकामा आएर बालसुलभ बोलीमा के–के भन्छ र कोठा भित्र आउन खोज्छ । रुन्छ कराउँछ । मामा मामा भन्छ । मेरो मातृहृदय पुत्र वात्सल्यमा द्रविभूत हुन्छ । मेरा आँखाबाट पीडाहरु गालामा ओर्लन्छन् । म छोराले नदेख्ने गरी आँसु पुछ्छु ।

मेरा खाना खाने थाल र बटुकाहरु पनि अलग्गै छन् । अस्पताल जाँदा आउँदाका जुत्ता र लुगालाई घर बाहिरै राखेर अलग्गै धुन्छु । श्रीमानले खाना र खाजा बनाएर अलग्गैबाट मेरा थालमा झारी दिनु हुन्छ । म किचेनमा प्रवेश नगरेको पनि दशौं दिन नै भै सक्यो । लन्च बक्स श्रीमानले नै तयार गरेर ढोका नजिक राखिदिनु हुन्छ ।

म गह्रौं मन लिएर उठ्छु । नुहाइधुवाइ गर्छु । अनुहारमा देखिने अनिद्राका सूचकहरुलाई छोप्नका लागि हल्का मेकअप गर्छु । ओठमा हल्का लिपिस्टक दल्छु र हाँसे जसरी ओठ तन्काउँछु र ऐनामा हेर्छु । मलाई सिंगारमा कती पनि सोख छैन । पहिला पहिला त झन केही पनि लगाउँदिन थिएँ ।

साथीहरुले भन्दा भन्दा बल्ल यतिसम्म गर्न थालेकी छु । मेरा आँखा भित्ताको घडीमा पुग्छन् । समय कति चाँडै बग्छ । झण्डै ६ नै बज्न लागेको रहेछ । म हतार हतार कोठाको कुनामा भएको सानो फ्रिजबाट दुध निकाल्छु । फ्रिजको माथि राखेको सिरेललाई बटुकामा हाल्छु । त्यसमा दुध राखेर बिहानको खाजा खान्छु ।

कहिलेकाहीँ यही बिहानको खाजाका भरमा बाह्र घण्टाको काम सकिन्छ । काममा धेरै व्यस्त भयो भने भोक तिर्खा भन्ने पनि बिर्सिन्छ । पिसाब गर्न जान्छु भन्दा भन्दै घण्टौं बित्छ । त्यही भएर त धेरै नर्सहरुलाई यूरिनरी इनकन्टिनेन्स चाँडै हुन सुरु हुन्छ रे । नर्सहरुलाई पर्याप्त पानी नपिएर डिहाइड्रेसन हुन्छ । कहिले काम गर्दा गर्दै ब्रेक लिने समय नै पाइँदैन । पोहोर साल आफैंलाई स्लाइन चढाउनु परेको सम्झन्छु । आङ नै जिरिङ्ग हुन्छ ।

श्रीमानले ढोकाको छेउमा राखिदिएको लन्च बक्स र पानीको बोतल बोकेर काममा निस्कन्छु । आज फेरि बाह्र घण्टाको डे सिफ्ट छ । सिफ्ट सुरु हुने समय सात बजे भए पनि सधैं आधा घण्टा छिटो पुग्नु पर्छ । नत्र त्यहाँको रिपोर्ट लिनलाई नै ढिला हुन्छ ।

आफू ढिला पुग्दा राती बाह्र घण्टा काम गर्नेहरुलाई पनि अन्याय हुन्छ । फेरि मेरो अलि चाँडै पुग्ने बानी छ । ढिला पुगेर हतार हतार गर्दा कति रिपोर्टहरुमा राम्रो ध्यान पुग्न सक्दैन । केही रिपोर्ट मिस भयो भने बिरामीको जीवन तलमाथि हुने सम्मावना पनि बढ्न सक्छ ।

त्यस्तो भयो भने म आफैंलाई माफी दिन सक्दिन । फेरि यो अवस्था भनेको अरु बेला जस्तो सामान्य अवस्था छैन । संसारभर कोरोनाको महामारी फैलिएको छ । यस्तो बेलामा हामीलाई पनि अस्पताल प्रवेश गर्दा सबै चेक गरेर मात्र प्रवेश गर्नु पर्दछ । रुघा खोकी लागेको छ कि छैन ।

जीउ दुख्नेको, सास फेर्न गाह्रो भएको, छ कि छैन । बाहिर कुनै देशमा तत्काल गएर आएको छ छैन । बाहिरबाट आउनेहरुसँग सम्पर्क भएको छ छैन । यी सबैमा नेगेटिभ उत्तर भएपछि मात्र तापक्रम नापेर ज्वरो नआएको देखिएमा अस्पतालमा प्रवेश गर्न पाइन्छ ।

इमरजेन्सी वार्डमा हामीहरु सधैं ब्यस्त हुन्छौं । यदि तपाई क्यानडाको कुनै अस्पतालको इआर पुग्नु भएको छ भने देख्नु भएको हुनु पर्छ । कम्तीमा पनि चार देखि ६ घण्टासम्म बिरामीले पर्खने समय भनेर ठूला अक्षरमा लेखिएको हुन्छ ।

पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, ढाड दुख्नेहरु त चार पाँच घण्टा कुर्दा कुर्दै निको भएर घर फर्कने गर्दछन् । तर हृदयघात हुने गहिरो चोटपटक लागेर रक्तश्राव भएका, सास फेर्न गाह्रो भएका बिरामीहरुलाई भने प्राथमिकतामा राखेर इमर्जेन्सीमा आउनासाथ तुरुन्तै उपचार गरिन्छ ।

प्रायः त्यस्ता बिरामीहरु एम्बुलेन्सबाट आएका हुन्छन् । कहिले काहीँ इमरजेन्सीको प्रतिक्षा कोठामा सयौँको संख्यामा बिरामीहरु पर्खिरहेका हुन्छन् । चाहेर पनि सबैलाई समयमै उपचार गर्न सकिँदैन ।

श्रोत साधन र जनशक्तिको अभावकै कारण यस्तो भएको हो । कतिपय बिरामीहरुलाई त प्रतिक्षाकोठामा बस्दाबस्दै अन्य नयाँ रोगहरुले संक्रमण गरी सक्दछ । त्यसैले सामान्य बिरामी हुँदा अस्पताल नजानु भन्छन् । खास गरेर बच्चाहरुलाई यस्तो धेरै हुने गर्दछ ।

यो कोरोना कोभिड–१९ले गर्दा हामी स्वास्थकर्मीहरु पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट (पिपिइ) बाट सुसज्जित भएर प्रवेश गर्नु पर्दछ । हिजोआज पर्याप्त मात्रमा पिपिइ नभएर एउटै मास्कले दिनभरी पुर्याउनु पर्दछ । अस्पताल आएका बिरामीहरु कसलाई के रोग लागेर आएको छ भन्ने थाहा नै हुँदैन ।

पिपिइ भएन भने त थाहा पाउँदा सम्ममा ढिला भै सकेको हुनेछ । दिन भरी लगातार मास्क लगाउँदा मास्कका वरिपरीको कडा वस्तुले नाकमुख वरिपरी गहिरो डाम बनाई दिन्छ । कहिले आफैंले फेर्ने तातो सासको ओहरदोहरले रिंगटा समेत लाग्दछ । चश्मा लगाउनेहरुलाई मास्कबाट लिक भएको तातो बाफले आँखै नदेख्ने बनाउँछ ।

बाहिरबाट आउने बिरामीसँगको पहिलो भेट हामी सँगै हुन्छ । बिरामीहरुको सामान्य लक्षणहरु, स्वास्थ्यको वर्तमान र विगतको अवस्था जानकारी लिन्छौं । बिरामीको ब्लड प्रेशर मुटुको धड्कन श्वास प्रश्वास अक्सिजनको मात्रा तापक्रम तौल र उचाईको परीक्षण गर्दछौं ।

कति बिरामीलाई आउँदा आउँदै अक्सिजन दिनु पर्दछ । अलिकति ढिला भयो मने बिरामीको अवस्था झन नाजुक बन्दछ । कहिले बिरामीलाई ठूलो चोट लागेर रक्तश्राव भैरहेको हुन्छ । कम्प्रेसन दिएर रगत बग्न रोकेन भने बिरामी मर्ने डर हुन्छ । यी सबै सकेपछि मात्र हो कुन बिरामीलाई कुन डाक्टरसँग पठाउने भन्ने कुरा ।

यसरी बिरामीसँग एउटा बन्द कोठामा नजिकबाट जानकारी लिँदा एउटै कोठाको हावामा बिरामी र नर्सले सास फेर्नु पर्दछ । यसरी थाहा नै नपाई रोग सर्ने सम्भावना हुन्छ । सयभन्दा बढी डाक्टर र नर्सहरुले कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाइसकेका छन् । त्यसमा आधा भन्दा बढी त इटलीमा नै छन् । चाइना लगायत अमेरिका, यूके, फ्रान्स, स्पेन, इन्डोनेसिया र इरान जस्ता देशहरुमा बिरामीको जीवन बचाउने क्रममा संक्रमित भएर जीवन आहुति दिए ।

भर्खरै भर्जि्नियामा एक जना नर्सको दुखद निधन भयो । इटलीमा एक जना नर्सले आफू संक्रमित भएको थाहा पाएपछि अरुलाई बिमार सर्छ भनेर आफूलाई नै अन्त्य गरिन् । त्यो समाचार सम्झँदा पनि मुटु थरर्र काम्दछ । हात खुट्टा लुला हुन्छन् । सास फेर्न गाहो भएको महसुस हुन्छ । ती नर्सहरुका परिवारहरुको बारेमा सोच्दछु । झन त्रास हुन्छ ।

आफ्नो पेटमा हुर्कँदै गरेको बच्चालाई सम्झिन्छु । मैले उसका लागि भए पनि रोगबाट बच्नु पर्दछ । तर यो भयावह स्थितिमा आफूलाई र पेटको बच्चालाई कसरी बचाउने भन्ने त्रास छ । म कम्प्युटरमा बिरामीको चार्टिङ गर्दै हुन्छु । मलाई चार्टिङ गर्दा गर्दै टाउको दुखे जस्तो हुन्छ । चारै तिर तिर्मिर हुँदै कालो देख्न थाल्छु । रिंगटा लागेर कोठा नै घुमेको देख्छु । म बसेकै ठाउँमा घप्टो परेछु । निधारले कम्प्युटरको किबोर्डलाई थिचेछ ।

धन्न साथीले देखिछन् । फ्रिजबाट चिसो पानी ल्याएर मुखमा र निधारमा राखी दिइन् रे । ब्लड प्रेसर चेक गर्दा निकै हाइ भएछ । मुटुको धड्कन पनि बढेर १४५ पुगेछ । तापक्रम पनि ३९ डिग्री पुगेछ ।

मेरो निधारमा चिसो पानी पट्टी राखिदिएको रहेछ । करिब आधा घण्टापछि मात्र मैले थाहा पाएँ । मलाई त स्टाफ रुममा लगेर राखेको रहेछ । बिस्तारै उठेर हेरैँ । सँगै काम गर्ने लोरीले आर यू ओके भनेर सोधिन । मैले म कसरी यहाँ आएँ भनेर जिज्ञासा राखेँ ।

खै यो कोभिड–१९ कहिले सम्म रहने हो । हामी फ्रण्टलाइनरहरुले आफू आफन्त र बिरामीहरुलाई कसरी बचाउन सक्छौं । यो त आजको एक दिने सिफ्ट मात्र सकिन लाग्यो । यो हप्तामा अझै लगातार तीन दिन बाँकी छ । अप्रिलको पहिलो हप्ता मात्र सुरु भएको छ । थाहा छैन यसरी कति दिन जीवन मर्दै र वौरँदै गर्दै जाने हो ।

अटवा, क्यानडा /  डिसि नेपालडट कमबाट