सुनसरी । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टस्थित एक होटेलमा तास जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार साँझ शान्ति मगरले सञ्चालन गरेको होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको (पिट) टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदेश प्रहरीको पिटका प्रहरी निरीक्षक देवानन्द मिश्रको कमान्डमा खटिएको प्रहरीले छापामारको क्रममा ५२ पत्तीका ३ बुङ तास र नगद २ लाख १ हजार ८२५ बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरी नियन्त्रणमा पर्नेहरूमा धरान उपमहानगरपालिकाका विभिन्न वडाका किशन घिमिरे, रवि राई, राम राई, विमल मगर, विनोद बास्फोर, नायक सिंह क्षेत्री, रुद्र बहादुर बिक, मोहन भण्डारी तथा धनकुटा शहीद भूमि गाउँपालिकाका योग्य प्रसाद राई र प्रेम राई रहेका छन्। उक्त होटेलकी सञ्चालिका शान्ति मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। होटेलकी सञ्चालिका मगर स्वयम जुवा खेल्ने कार्यमा संलग्न छिन् ।
फेरी पक्राउ परे रवि
पक्राउ परेका रवि राई भने ४ महिना अघि आफ्नै घरमा तास खेलाउने र खेल्ने क्रममा पक्राउ परेका व्यक्ति हुन । मङ्सिर २९ गते धरान उपमहानगरपालिका १३ शिवधारास्थित रविको घरमा जुवा कौडा खेलिरहेको अवस्थामा रविसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो । यो समूहको साथबाट नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा बरामद भएको थियो । रवि सुनसरी जिल्लासहित पूर्वमा पेसेवर जुवाडेको रूपमा परिचित छन् । उनी पक्राउ पर्दै धरौटीमा छुट्ने गरेका छन् । त्यसो त पटक पटक जुवाजन्य मुद्दामा पक्राउ परेका व्यक्तिलाई पटकेका रूपमा मुद्दा दर्ता गरी कैद सजाय दाबी गर्ने कानुनी व्यवस्था छ । तर रवि प्रहरीका उच्च अधिकृतसँग निकट भएकै कारण उनी पटकेमा नपरी प्राय अदालतबाट धरौटीमा छुट्दै आएका छन् ।
धरानमा प्रदेश प्रहरीको छापा
धरानमा मङ्सिर २९ गते रवि राईको घरमा छापा हानेर ८ जना पक्राउ गर्नेमा कार्यमा पनि कोशी प्रदेश प्रहरी कार्यालयको पिटको भूमिका थियो । र अहिले पनि यो प्रकरणमा सूचना सङ्कलन र छापा हान्ने कार्यमा पिट टोलीनै फ्रन्टलाइनमा थियो । त्यसो त धरानमा सूचना सङ्कलनको लागि धरानका डिएसपी भीषण बाबु राईले असईको कमान्डमा नयाँ घुमुवा प्रहरी टोली परिचालन गरेका छन् । पुराना घुमुवा प्रहरीहरू हेडक्वार्टरको कारबाहीमा परेपछि अहिले नयाँ घुमुवा टोली परिचालन भए पनि धरानमा जुवाजन्य गतिविधिको सुइँको समेत पाएका थिएनन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषण बाबु राईले पक्राउ परेकामध्ये केही व्यक्तिको आपराधिक रेकर्ड अध्ययन गरेर मात्र ‘पटके’को रूपमा मुद्दा दर्ता गर्ने बताए। उनका अनुसार यस पटक जुवाजन्य गतिविधिमा संलग्नहरूविरुद्ध कडा कारबाही गर्ने तयारी भइरहेको छ। “पक्राउ परेकाहरूको क्राइम रेकर्ड हेरेर आवश्यक अनुसार कडा प्रकृतिको मुद्दा दर्ता गर्छौँ। जुवाजन्य गतिविधि नियन्त्रणमा प्रहरी निर्मम हुन्छ,” डिएसपी राईले प्रदेश पोर्टलसँग बताए।
प्रदेश प्रहरीको टोलीले छापा हानेको विषयमा उनले प्रहरी सबै एउटै संरचना भएकाले संयुक्त अपरेसन भएको दाबी गरे। साथै सूचना संकलनका लागि परिचालित नयाँ घुमुवा प्रहरी टोलीले पछिल्लो समय फरार अपराधी, लागुऔषध कारोबारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी काम गरिरहेको पनि उनले बताएका छन्।