इटहरीः महिलाहरूले महिलाकै आर्थिक सशक्तिकरण र उद्यमशीलता विकासलाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यसहित इटहरीमा आयोजना हुन लागेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ को तयारी तीव्र पारिएको छ।

महिला उद्यमशीलता प्रवर्द्धनका लागि सक्रिय रहेको महिला सीप विकास केन्द्र को आयोजनामा आगामी चैत्र ५ गतेदेखि ११ गतेसम्म महायज्ञ सञ्चालन गरिने भएको हो। महायज्ञको सफल आयोजना तथा व्यवस्थापनका लागि मूल आयोजक समितिले विभिन्न उपसमितिहरू गठन गरी प्रचार–प्रसार, व्यवस्थापन तथा आर्थिक संकलन लगायतका कामलाई तीव्र बनाएको जनाएको छ।

मूल आयोजक समितिकी अध्यक्ष राधिका थापा का अनुसार उक्त महायज्ञ गायत्री परिवार को सहकार्यमा सञ्चालन हुनेछ। महायज्ञ अवधिभर विभिन्न विद्वान पण्डितहरूबाट दैनिक रूपमा धार्मिक प्रवचन, कथा वाचन तथा आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरिनेछ।

WhatsApp Image 2026-03-15 at 21.40.54

कार्यक्रमको सुरुवात चैत्र ५ गते बिहान ७ बजे भव्य कलश यात्राबाट गरिनेछ। इटहरीका विभिन्न स्थानबाट सहभागी श्रद्धालुहरू कलशसहित धार्मिक झाँकी र बाजागाजासहित महायज्ञ स्थलमा पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। सोही दिन बिहान ११ बजे महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम तय गरिएको अध्यक्ष थापाले जानकारी दिइन्।

महायज्ञ अन्तर्गत चैत्र ६ गतेदेखि नियमित पूजा–अर्चना, भागवत कथा वाचन तथा आध्यात्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। आयोजकका अनुसार महायज्ञ अवधिभर बिहान १० बजेदेखि “दैनिक जीवन दर्शन” सम्बन्धी सत्संग कार्यक्रम सञ्चालन हुनेछ भने साँझ ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन आरती, भजन–कीर्तन तथा सामाजिक सम्मान कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी, महायज्ञमा सहभागी श्रद्धालुहरूले आफ्ना दिवंगत पितृहरूको मोक्ष तथा आत्मशान्तिका लागि ऊँकार बत्ती प्रज्वलन गर्ने विशेष कार्यक्रम समेत रहने बताइएको छ।

WhatsApp Image 2026-03-15 at 21.40.55 (1)

महायज्ञको समापन समारोहलाई विशेष बनाउने उद्देश्यले विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू पनि समावेश गरिएको आयोजकले जनाएको छ। समापन दिन सामूहिक गुन्यु–चोली, ब्रतबन्ध संस्कार, गीत–गजल प्रस्तुती, सांस्कृतिक कार्यक्रम तथा भिडियो विमोचन लगायतका कार्यक्रमहरू आयोजना गरिनेछन्।

आयोजकका अनुसार महायज्ञबाट संकलित आर्थिक सहयोग रकम महिला सीप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्न प्रयोग गरिनेछ। उक्त अक्षयकोषमार्फत महिलाहरूलाई उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगारका अवसर सिर्जना गर्न दीर्घकालीन रूपमा सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ।

अध्यक्ष थापाले धर्म, संस्कार र सामाजिक सेवालाई जोड्दै आयोजना गरिएको यस महायज्ञमा सम्पूर्ण श्रद्धालु, समाजसेवी, उद्यमी तथा सर्वसाधारणलाई सहभागी भई पुण्यलाभ लिन र महिला सशक्तिकरणको अभियानलाई सहयोग गर्न आग्रह गरेकी छन्।

WhatsApp Image 2026-03-15 at 21.40.55