इटहरी । इटहरी उपमहानगर क्षेत्रमा पछिल्लो दुई सातादेखि फोहोर उठ्न नसक्दा बजार क्षेत्रदेखि टोलटोलसम्म फोहोर थुप्रिएको छ। लामो समयसम्म फोहोर संकलन नहुँदा दुर्गन्ध फैलिएको भने हैजा जस्ता महामारी फैलिने जोखिमसमेत बढेको भन्दै स्थानीयवासी चिन्तित बनेका छन्।

सामाजिक अभियन्ता तुलसी उप्रेतीसहित इटहरीका सचेत नागरिकहरूको समूहले फोहोर तत्काल व्यवस्थापन नगरे उपमहानगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएपछि सोमबार बिहानबाट भने बजार क्षेत्रको फोहोर उठाउन सुरु गरिएको छ।

त्यसो त, इटहरीबाट दैनिक करिब ५५ टन फोहोर उत्पादन हुने गर्छ। इटहरी उपमहानगरपालिकाले उक्त फोहोर संकलन व्यवस्थापनको जिम्मा २० वर्षका लागि वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिलाई दिएको छ। संकलित फोहोर व्यवस्थापनका लागि इटहरी१० मा ल्यान्डफिल साइट निर्माण गरिएको छ। तर हाल ल्यान्डफिल साइट जाने बाटोमा स्थानीयवासीले अवरोध गरेपछि फोहोर बोक्ने सवारीसाधन सञ्चालन हुन नसकेको बताइएको छ। स्थानीयवासीका अनुसार डम्पिङ साइटमा फोहोरको उचित व्यवस्थापन नभएका कारण गाउँमा दुर्गन्धले बस्नै नसक्ने अवस्था सिर्जना भएको छ।

यस्तै, केही दिनअघि फोहोर बोक्ने सवारीको ठक्करबाट एक स्थानीय युवकको मृत्यु भएपछि विवाद झनै चर्किएको छ। डम्पिङ साइटमा थुप्रिएको फोहोरका कारण गाउँ मात्र नभई नजिकै रहेको ज्ञानोदय विद्यालय पनि प्रभावित भएको छ। उक्त विद्यालय डम्पिङ साइटबाट करिब २०० मिटरको दूरीमा रहेको  जहाँ ३२८ जना विद्यार्थी अध्ययनरत छन्। फोहोरबाट फैलिने दुर्गन्ध सम्भावित संक्रमणका कारण बालबालिकाको स्वास्थ्यसमेत जोखिममा परेको स्थानीयवासीको गुनासो छ।

649520266_1211145311182438_8893932044689489232_n (1)स्थानीयहरूका अनुसार फोहोर व्यवस्थापनका विषयमा इटहरी उपमहानगरपालिका इटहरी१० का बासिन्दाबीच यसअघि विभिन्न बुँदामा लिखित सम्झौता भएको थियो। तर ती सम्झौता कार्यान्वयन नभएपछि अहिले आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

आन्दोलनरत स्थानीयहरू अहिले स्पष्ट रूपमा भनिरहेका छन्—“मेयर हेमकर्ण पौडेल स्वयं फिल्डमा आएर समस्या समाधान नगरेसम्म आन्दोलन रोकिने छैन।

यता फोहोर संकलनको जिम्मा लिएको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि आर्थिक समस्या झेलिरहेको दाबी गरिएको छ । कम्पनीले आफ्नो व्यवसाय नै बिक्रीमा राखेको भन्दै एक सूचना सार्वजनिक गरेको छ। यद्यपि उक्त सूचना आधिकारिक हो वा होइन भन्ने विषयमा अझै स्पष्टता छैन।

यसैबीच इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीयवासीसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै फोहोर व्यवस्थापनमा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेका छन्। 

इटहरी उपमहानगरपालिकाले नेतृत्वदायी भूमिका लिएर स्थानीयसँग भएका सम्झौता कार्यान्वयन गर्नु, कम्पनीको जिम्मेवारी सुनिश्चित गर्नु र दीर्घकालीन फोहोर व्यवस्थापनको स्पष्ट योजना ल्याउनु अत्यन्त आवश्यक रहेको स्थानियहरुको माग छ ।

648643783_1239857098281002_4454438328976306896_n