पागल अर्थात् लगभग आठदशक वसन्तले स्ववयको मापन गर्न लागेका हामी सबैका प्रेरक, अग्रज स्रष्टा उपेन्द्रबहादुर बस्नेत । १९९९ पुस ४ का स्रष्टा पागलले तीसको दशकमा पिण्डेश्वर महाविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका हुन् भने पचासको आसपास त्रिविबाट स्नातकोत्तर । विद्यार्थीकालदेखि नै सिर्जना र समालोचनामा रुचि राख्ने उपेन्द्र बस्नेत पागल उपनामसँगै चित्रकला र शब्दकला दुबैतर्फ आजसम्म उत्तिकै सक्रिय छन् । सरकारी सेवाको प्रशासनिक कौशल र सुकुना क्याम्पसको प्राध्यापन कौशलबाट उनीभित्रको कलासामथ्र्य झन् झन् सबल बन्दै गएको देखिन्छ । नेपाली साहित्यका कविताकाव्य, कथा र निबन्ध विधाहरूमा सिद्धहस्त पागलको समालोचक व्यक्तित्वको संक्षिप्त परिचर्चा प्रस्तुत आलेखको अभीष्ट हो ।

फुटकर रूपमा समीक्षात्मक निबन्धहरू लेख्दै आएका पागलको पहिलो पुस्तकाकार समालोचना–ग्रन्थ विश्व शाक्यका हाँस्यव्यङ्ग्य कृतिहरूको अध्ययन र मूल्याङ्कन हो । ०६२ मा प्रकाशित पूर्वोक्त सङ्ग्रह संयुक्त समालोचना थियो भने ०६५ मा प्रकाशित कवि श्यामकृष्ण श्रेष्ठका समग्र कृतिहरूको अध्ययन पागलको दोश्रो समालोचना सङ्ग्रह हो । यसपश्चात् ०७० मा एकैपटक प्रकाशित मोफसल समालोचना शीर्षकका दुई कृति द्रष्टा पागलका सबल प्राप्ति हुन् । कविता–काव्य र आख्यान–निबन्ध गरी दुई उपशीर्षकसहित आएका यी दुबै कृतिले पागलको समालोचनागत गति र प्रवृत्ति स्पष्ट पारेका छन् । समग्रमा व्यक्तित्व र कृतित्वका आलोकमा आएका द्रष्टा पागलका पूर्वोक्त चारवटा कृतिहरू उनको नरमदृष्टिपथका साबिती बनेका छन् । उनको समालोचना सिस्नुपानी होइन, न त हो भजनकीर्तन । शुभाशंसाको मुटुबोलीमा प्रेरणाका स्वादु शम्बल हुन् पागलका समालोचनाहरू ।

ज्येष्ठ स्रष्टा उपेन्द्र पागलको डा. भीम खतिवडाबाट सम्पादित, पछिल्लो कृति ‘उराव जातिको संस्कृति’ छापाखानामा पुगिसकेको छ भने उनका कविताहरूको संग्र्रह प्रलेस, सुनसरीका तर्फबाट अध्यक्ष राम खरेल सम्पादन गरिरहेका छन् । यसअघि पागलका समालोचना, निबन्ध, कथा र कविताका एक दर्जनबढी कृति प्रकाशित भइसकेका छन् । उनको व्यक्तित्व र कृतित्वमाथि आधा दर्जनजति शोध भइसकेका छन् भने इनरुवा नगर तथा बेलबारी नगर समिति लगायतका दर्जनौं संस्थाद्वारा उनी अभिनन्दित थिए ।)

अतिवादी चेतनाले अभिशप्त हाम्रो प्राज्ञिक क्षेत्रमा समन्वयवादी तथा वस्तुवादी समालोचकहरू कमै छन् । मूलतः समालोचना निकै गम्भीर पुनःसिर्जन प्रक्रियाको प्राप्ति हो । विवेकपूर्ण सन्दृष्टि पुगेन भने कुनै पनि स्रष्टाको सिर्जनाको उचित मूल्याङ्कन हुन सक्दैन र कृतिगत उद्देश्य पूरा हुन सक्दैन । पाठकलाई सम्बद्ध कृतिबाट प्राप्त हुने सन्देश विधानुरूप स्वाभाविक रूपमा भए पनि उक्त कृतिको अन्तःप्रभावको पुनर्जीवन सञ्चार गराउने भूमिका चाहिँ समालोचनाको हो । त्यसैले चढाउने र लढाउने प्रवृत्तिका अतिवादी बखान वास्तविक आलोचना नै होइनन् । विधागत तात्त्विक आधार र भावगत सम्प्रेषणसामथ्र्यसँगै स्रष्टाको समाजशास्त्रीय विवेकको कलापूर्ण परख पगेल्न वस्तुगत आँखा आवश्यक हुन्छ, जसले कृति, कृतिकार र पाठक तीनै सरोकारवाला पक्षहरूमाथि न्याय दिलाउन सक्छ । हो, हामी पागलका समालोचनामा यही सुगन्ध पाउँछौं । जो स्वयं सिर्जना गर्छ, ऊ सिर्जनामाथिको विवेकी सन्दृष्टिप्रति सावधान बन्नै पर्छ ।

समालोचक पागलका प्रवृत्तिहरूको सामान्य अनुशीलनबाट पनि हामीलाई यो निष्कर्षमा पुग्न सहज हुनेछ । प्रवृत्तिहरूभन्दा पहिले उनलाई कुशल समालोचक बनाउने केही पक्षहरूको सन्दर्भ उठाऊँ । स्रष्टा पागललाई सम्पादक र भूमिकाकार व्यक्तित्वसँगै कार्यपत्रहरूका प्रस्तोता र टिप्पणीकारका रूपमा पनि सम्मानपूर्वक लिइन्छ । कलाको गुरुगौरव पागलको परिचय हो । कविताकलाका त उनी ज्ञाता नै हुन् । कथा र उपन्यास उनका मनछुई विधा हुन् । गजल र गीत उनका रहर, लहड र उत्प्रेरक विधा । नेपालको पूर्वी क्षेत्रका स्थापित तथा नवोदित स्रष्टाहरूमा पागलका शब्दहारीको प्रशंसा र आशीर्वाद गर्वको विषय बनेको छ ।

उनी साहित्यमा विभेदको व्याकरणका लिङ्ग, वचन, पुरुष आदि आस्था र प्रथाका विरोधी हुन् । मुस्कान मुहारमा बोकेर कपटी दाउ पर्खिने उनको बानी छैन बरु कलम र मुहार दुबैले हाँस्छन् । बडाको हार्दिक स्याबास र क्याबातले एउटा कलिलो सिर्जनाको फूल भोलि जगभरि सुगन्ध छर्न सक्ने बन्छ भने कन्जुस्याइँ पो किन र ! अँ त, पागलका सयौं भूमिका र शुभाशंसाहरूले उनलाई उत्प्रेरक अग्रज स्रष्टा मात्र बनाएको छैन कि सरल, विश्लेषणशील, व्याख्यात्मक सम्बोधयुक्त आधिकारिक पाठबोद्धा गुरु–पाठकका रूपमा स्थापित गरेको छ । वास्तवमा समीक्षाको पागलपथ एउटा सरल पाठकीय परिवृत्त हो, जसले एउटा सामान्य पाठकलाई विचारको टापुसम्म विनापसिना र विनासंकोच पुग्ने गोरेटो तयार गरिदिन्छ । हरेक पाठक पागलको भूमिका पढिसक्ना साथ सम्बद्ध कृतिमाथिको आफ्नो धारणा सहजताका साथ बनाउन सक्दछ । समालोचक पागललाई चिनाउने यही एउटा सरल शरणी बन्न पुगेको देखिन्छ ।

समालोचक पागल विधागत सैद्धान्तिक आधारमा समालोचना गर्दछन् । उनको मौलिक शैली छ यस कर्ममा । उनी प्रभाववादी समालोचक हुन् । सिर्जनाको वस्तुगत मूल्याङ्कनमा यो प्रवृत्ति कहिलेकाहिँ निकै प्रत्युत्पादक बन्न सक्छ । खास गरी स्रष्टाको आत्ममूल्याङ्कनमा ‘चुनापथ’ को सुन्निएर मोटाउने भ्रम नछाओस् भन्नेमा द्रष्टा सचेत बन्नै पर्छ । ‘अल इन वान’ समालोचक पागलको व्यापन र सीमा दुबै बन्न पुगेका छन् । विधागत विशिष्टीकरणभन्दा बढी स्व–अध्ययनका हरेक विधामा उनको पकड छ, जसले सामथ्र्यसँगै सीमा पनि अनुभव हुन्छ । जब उनी कविताका हाइकुदेखि महाकाव्यसम्म र कथा, उपन्यास तथा गजलको समेत अपरेसनमा सन्नद्ध देखिन्छन्, तब लाग्छ पागलले धानेको यो सर्वविवेकक्षमता भविष्यमा कसले बोक्ला नि! यिनको समालोचना जीवनीपरक तथा व्यक्तित्वप्रकाशक शैलीबाट अघि बढेको हुन्छ ।

शीतका थोपा काव्यसङ्ग्रहमा षडानन्द प्रतिभा पुरस्कार प्राप्त गर्नुभएका, एक दर्जन बढी साहित्यिक कृतिका श्रष्टा साहित्यकार, कलाकार प्राज्ञ उपेन्द्र पागलको बुधकार दुःखद निधन भएको छ । उहाँका जीवन भागिरहेछ, अलमलिएका यात्रा, चक्रपथको यात्रा, क्युरियो पसलको बुद्धमुर्ती, फलामको आली लगायत कृति प्रकाशित छन भने झाँगड जातिको संस्कृति सम्बन्धी र एक कविता संग्र्रह प्रकाशोन्मुख रहेछन । पाँच दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गर्ने पागल युवाहरु माझ निकै प्रिय हुनुहुन्थ्यो ।)

upendra-pagal-11

व्यावहारिकता उनको विशेषता हो । शास्त्रीय सोपानमा पागलका कृति–आलोचनाका पाइला बढ्छन् । कथा र उपन्यासमा पनि कवितामा जस्तै रस र भावको अनुसन्धान गरेर आस्वाद्यताको आविष्कार गरिदिनु यिनको आफ्नै विशेषता बनेको छ । सबैभन्दा महत्वपूर्ण पक्ष मोफसलको सिर्जनाको उज्यालोले केन्द्रलाई पनि तिरिमिरि बनाउने सामथ्र्य हो । द्रष्टा पागलको यो पक्ष हामी सबैका लागि अनुकरणीय छ । केन्द्रको उपेक्षाभावलाई बोलेर र आलोचना घोलेर विज्ञापनका बाँसुरी बजाउनेहरूका लागि द्रष्टा पागलको ‘कामले देखाऊ ः दूरी र दुर्भाव मेटाऊ’ अभियान मौन तर सिर्जनशील अक्षरका आवाजहरू साँच्चै उत्प्रेरक बनेका छन् । काठमाडौंबाहिरका स्रष्टाहरूका विविध विधाका कृतिहरूलाई स्नेहपूर्ण तवरले श्लिेषण गरेर मोफसल समालोचना नै प्रकाशन गर्ने समालोचक पागलको प्रेरक ऋषिमन मोफसलका स्रष्टाहरूका लागि आशीर्वादको अवतार नै बनेको छ ।

सामाजिक यथार्थलाई सिर्जनाको आधार बनाउने स्रष्टा पागलले समालोचनामा चाहिँ शैलीविज्ञानलाई आधार बनाएको देखिन्छ । समीक्षा र समालोचना उस्तै भएर पनि भिन्नै हुन् भन्ने कुरा यिनलाई पढ्नेले बिर्सन खोज्छ । यिनी प्रत्येक कृतिभित्र रैखिक ढङ्गले बसेर ‘गुदी कुरा’–का कोलम्बस बनेर निस्कन्छन् । पागलको समालोचकीय प्रवृत्तिको मियो सिर्जना, सर्जक र सिद्धान्त नै हो । जान्नेहरूका लागि अतिविस्तार र व्याख्यात्मकता उनका दोष हुन् भने सामान्य पाठकका लागि त्यही समग्रता सहयोगी बन्न पुगेको देखिन्छ । त्यसैले पागलको यो मौलिक परिचय कृति–सम्बोधका लागि पीपल–छाया बनेको छ ।

स्रष्टा पागलभन्दा द्रष्टा पागल प्रिय बनेका छन् । आलोचना सुन्नै नरुचाउने आजको दुनियाँलाई आमाले नानीलाई ‘चिनीपछि सिटामोल’ ख्वाएजसरी सुधारको सन्देश दिन्छन् यिनी । समालोचक पागल काकाको ‘जे जे लेख्यौ सबै राम्रो’–वादी धारणा आलोच्य छ । कतिपय कृतिहरूमा देखिएका भाषिक दोषहरू, विधागत बेमेलहरू र भावगत कमजोरीहरू ट्वाक्क नभनिदिनाले इमानदार स्रष्टाहरूलाई क्षति हुने तथा नीलोतुथोप्रियहरूलाई नक्कली प्वाँखले दुर्घटनातिर लैजाने भयप्रति हामी मोटोबुद्धिका सद्धेभन्दा बरु पागलकै ध्यान जानु जरुरी छ ।
ज्येष्ठ स्रष्टा र ज्येष्ठ द्रष्टा पागलको सिर्जनशील सक्रियताले हामी सबैलाई प्रेरणा दिइरहेको छ । उमेरले युवा हुने परम्परामा कर्मले पो युवा हुन्छ त भन्ने प्रमाण हुन् उपेन्द्र पागल । पागलको अस्वस्थता हामी सबैलाई दुःखी बनाइरहेको छ हिजोआज । हाल श्वासप्रश्वास, फोक्सो र बुढ्यौलीका तमाम रोगव्याधहरूसँग जीवनमरणको युद्ध लडिरहेका यी सर्वप्रेरक ऋषिलाई स्वस्थ र सृजनशील पाइरहूँ, हृदयको यही शुभाशंसासहित विश्राम लिन्छु यो शब्दश्रृङ्खलाबाट ।

कलासाधक, कवि, निबन्धकार, कथाकार, समालोचक, गजलकार, गीतकार, चिन्तक प्राज्ञ उपेन्द्र पागल (१९९९ पौष ५ मा जन्म, २०७६ चैत्र १९मा निधन) अब यी कृतिहरूमा सदासर्वदा बाँचिरहनुहुने छ ,
१. शीतका थोपा (खण्डकाव्य, २०४५)
२. जीवन भागिरहेछ (कवितासंग्र्रह, २०४६)
३. यात्रा अलमलिरहेछ (कवितासंग्र्रह, २०४७)
४. गोरेटो खोजी ( कवितासंग्र्रह, २०५४)
५. अलमलिएका पाइलाहरू (कवितासंग्र्रह, २०६२)
६. विश्व शाक्यका ७ हास्यव्यङ्ग्य कृतिहरूको अध्ययन र मूल्याङ्कन (समालोचना, २०६२)
७. उपेन्द्र पागलका निबन्धहरू (२०६२)
८. उपेन्द्र पागलका कथाहरू (२०६३)
९. कवि श्यामकृष्ण श्रेष्ठका समग्र कृतिहरूको अध्ययन (समालोचना, २०६५)
१०. मोफसल समालोचना (कविता र काव्य, २०७०)
११. मोफसल समालोचना (आख्यान र निबन्ध, २०७०)
१२. चक्रपथको यात्रा र आजको निर्धो मान्छे (कवितासंग्र्रह), फलामको आली (निबन्धसंग्र्रह) आदि । यस्तै प्रकाशनका संघारमा पुगिसकेका उराव जातिको संस्कृति (अनुसन्धान), कविता संग्रह तथा विभिन्न विधाका पाण्डुलिपिहरू ।
१३. २०४९ देखि २०६६ सम्म विभिन्न ठाउँमा ११ पटक गरिएका एकल चित्र प्रदर्शनीमा प्रस्तुत सयौं चित्रहरू ।

यस्ता बहुमुखी प्रतिभाका धनी कीर्तिशेष पागलज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली !!    पूर्वी व्यूरोबाट