इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जाल मार्फत इटहरीको समग्र पत्रकारितामाथि अपमानजनक ढंगले दिएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ सुनसरीले गम्भिर आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ ।
महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले सुक्रबार साँझ प्रेस विज्ञप्ती प्रकाशित गर्दै मेयरको अभिव्यक्ति प्रति खेद व्यक्त गरेका हुन् ।
मेयर पौडेलले शुक्रबार बिहान आफ्नो आधिकारिक फेसबुक पेंजमा इटहरीको समग्र पत्रकारिता माथि आधारविना नै गम्भिर आरोप लगाउँदै एक स्टाटस पोष्ट गरेका थिए । सो पोष्टले दिनभर इटहरी तातेको थियो ।
बाह्रकोटीद्धारा जारी महासंघको प्रेस विज्ञप्तीमा भनिएको छ —‘समाचार प्रकाशित हुने बिषय सचिवालयमा अघिल्लो दिन नै जानकारी हुने र दानापानी नझरेपछि लाज छोप्न प्रकाशन/प्रशारण हुने भनेर गम्भिर बिषयलाई अपुष्ट ढंगले प्रस्तुत गर्नु पदीय मर्यादा विपरित रहेको ठहर गर्दै महासंघ खेद व्यक्त गर्दछ ।’
‘प्रेस स्वतन्त्रताको खिलाफमा मेयर पौडेलले दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्दै महासंघ सुनसरी आरोप पुष्टि गर्न चेतावनी दिन चाहान्छ ।’ महासंघ सुनसरीद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
इटहरीमा बारम्बार मेयर र पत्रकार बीचमा भईरहेको टकरावले सार्वजनिक वृतमा गलत सन्देश प्रवाह भईरहेको प्रति सचेत गराउँदै आलोचना र प्रश्न पत्रकारिताको धर्म भएको महासंघ सुनसरीले विज्ञप्ती मार्फत मेयरलाई स्मरण समेत गराएको छ ।
गत जेष्ठ ६ गते महालेखा परिक्षकको कार्यालयले बुझाएको लेखाप्रतिवेदनका आधारमा स प्रमाण इटहरीको हालसम्मको बेरुजु, पौडेल मेयर भएपछिको बेरुजु, बेरुजु क मगर्नलाई उनले चासो नदिएको बिषय, ‘क’ बर्गको एम्बुलेन्स नै नल्याई आपुर्ती कर्तालाई पेश्कीका नाममा उनले टेण्डरमार्फत कबुल गरेको कुल रकम नै भुक्तानी दिएको लगायतका बिषयहरु बिभिन्न संचारमाध्यमहरुमा निरन्तर प्रकाशन भएका थिए । मेयर पौडेलले ९ असारको कार्यपालिका बैंठकमै बेरुजुका बारेमा इटहरी सरकार र आफ्नो बदनाम गर्ने गरी सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा प्रचार गरिएको जनाउँदै आक्रोश पोखेका थिए ।
उनले ९ असारको बैंठकमा स्वतन्त्र रुपले लेखा परिक्षण गर्ने महालेखाका कर्मचारीहरु समेत पैसामा बिकेर हचुवाका भरमा लेखापरिक्षणको रिर्पोट तयार पार्ने गरेको गम्भिर आरोप समेत लगाएका थिए ।