इटहरीः  धरानमा विभिन्न घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । बालिका यौन दुर्व्यवहार, चोरी तथा ज्यान मार्ने नियतले हतियार प्रहारजस्ता घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान १७ का ४९ वर्षीय खजिन्द्र राई रहेका छन् । गत वैशाख १७ गते धरान १६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला राईले एक बालिकालाई यौन हिंसा गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रमदान कार्यक्रममा राईले १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुका अनुसार राईसहित अन्य घटनामा संलग्नलाई पनि पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

तीन महिनाअघि धरान–१५ की पवित्रा मगरको घर फोडेर नगद, सुनचाँदीको गरगहना चोरी गरेर फरार चोरलाई पक्राउ गरी सार्वजनिक गरिएको डीएसपी जवेगुले बताए ।

घटनामा संलग्न काभ्रेपलान्चोक जिल्लाको बेथानचोक–६ भञ्याङका ४१ वर्षीय सोनाम लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । लामाले धरानका दुई घरमा करिब चार लाख ५० हजार रुपैयाँ नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जवेगुले बताए ।

‘सवारी साधन भाडामा लिई विभिन्न स्थानमा पुगेर मानिस नभएको घरको ढोका फोड्ने र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ जवेगुले भने, ‘यो घटनामा संलग्न लामालाई काठमाण्डौँको दरबारमार्ग क्षेत्रबाट असार १४ गते पक्राउ गरिएको हो ।’

फरार रहेका लामालाई प्रविधिको उच्चतम प्रयोग गरी काठमाण्डौंको दरबारमार्ग एरियामा लुकीछिपी बसेको सूचनाको आधारमा पक्राउ गरिएको हो । उनले ४ लाख ४९ हजार ६ सय नगद, २ तोला सुन र १७ तोला चाँदी चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यसैगरी धरान उपमहानगरपालिका–१० स्थित सैनिक चौकमा गत असार १२ गते साँझ ६ बजे समीर राईमाथि धारिलो हतियार प्रहार गरी ज्यान मार्ने प्रयास गरिएको थियो । मोटरसाइकलमा आएका तीन जनाले खुकुरी र फलामको रड प्रहार गरी राईलाई घाइते बनाएका थिए । उनीहरूले मोटरसाइकलबाट राईलाई लखेट्दै हेलमेटलेसमेत प्रहार गरेका थिए ।

घटनामा प्रयोग भएको को २० प ७५६३ नम्बरको मोटरसाइकल चलाउने साइमन चौधरीलाई विराटनगर महानगरपालिका–१३ बाट असार १७ गते पक्राउ गरिएको हो । चौधरीको बयानको आधारमा घटनामा संलग्न पासाङ शेर्पालाई धरानबाट असार १८ गते र प्रशान्त प्रधानलाई धरानबाटै असार १९ गते पक्राउ गरिएको हो ।

उक्त घटनामा मोरङको सुन्दरहरैचा नगरपालिका–१२ बस्ने अजय खड्का फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘धरानको शान्ति सुरक्षाको अवस्था दयनीय छ कि भनेर प्रश्न उठेपनि हामी निरन्तर शान्ति, सुरक्षामै खटिइरहेका छौँ,’ डीएसपी जवेगुले भने, ‘हरदम आपराधिक घटना हुन नदिनका लागि प्रहरी खटिएको छ । यो आर्थिक वर्षमा जम्मा ११ वटा मात्रै यस्ता आपराधिक घटना घटेका छन् ।’

धरान प्रहरीको अभिलेखअनुसार अघिल्लो वर्ष भने ३१ वटा ज्यान मार्ने सम्बन्धी आपराधिक घटना भएको थियो ।

प्रहरीका अनुसार घटना हुनुको मुख्य कारण भनेको लागूऔषध कारोबारमा लेनदेन नमिल्नु रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा प्रयोग भएको मोटरसाइकल, खुकुरी र फलामको रड समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाका बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।