सुनसरी: मेला महोत्सवको आवरणमा सुनसरीको चकरघट्टीमा रात्रिकालीन जुवा सञ्चालन भइरहेको छ । बराहक्षेत्र नगरपालिका ७ चकरघट्टीस्थित साकेला पार्कमा असार ८ देखि २८ गतेसम्म सञ्चालन हुने चकरघट्टी मिनी महोत्सवमा ‘गैरकानुनी’ जुवाजन्य खेल खुलेआम भइरहेको हो ।  किरात राई यायोक्खा बराहक्षेत्रको जातीय संस्थाबाट २० दिने महोत्सवको अनुमति जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पाएको छ । तर महोत्सव सुरु भएको केही दिनदेखि रात्रिकालीन समयमा महोत्सव भित्र जुवाजन्य खेल भइरहेको छ । 

महोत्सवमा रात्रिकालीन समयमा डाइसको गोटी प्रयोग गरेर खेलाइने लक्की सेभेन र स्पिन (घुमाइने) खेल भइरहेको छ । जहाँ मेलामा आउने दर्शकहरू जुवामा ‘दाउ’ थापिरहेको फोटो र भिडियोमा स्पष्ट देख्न सकिन्छ । यस्ता खेलहरूमा दाउ थाप्नेहरूको ‘पैसा कुम्ल्याउन’ खेल खेलाउनेहरूले अनेक जुक्ती लगाउने गर्छन् ।  त्यसो त नितान्त सांस्कृतिक कार्यक्रम, बालबालिकाहरूको खेल तमासा र खानपान गराउने मात्र अनुमति पाएको महोत्सव आयोजक संस्थाले अहिले गैरकानुनी जुवाजन्य गतिविधि गराउँदै आएका छन् । 

जुवाको विषयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर जानकार भएपनि जुवा रोक्न भने प्रहरी ‘आनाकानी’ गरिरहेको छ ।  महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवरलाई महोत्सव भित्र जुवा भइरहेको भनेर धेरैले फोटो भिडियो प्रमाणसहित जानकारी गराउँदा समेत कुवरले खासै ‘एक्सन’ लिन सकेका छैनन् । शुरुवाती समयमा कुवरले जुवाको खालहरु उठाएर प्रहरी कार्यालयमा समेत ल्याएका थिए ।  ‘महोत्सव भित्र जुवा खेलाइएको जन–गुनासोको आधारमा हामीले पटक पटक आयोजकलाई चेतावनी दिएका थियौ’ प्रहरी निरीक्षक कुवरले प्रदेश पोर्टलसँग भने ‘तर यहाँ त चोर पुलिसको जस्तो खेल भइरहेको छ, बन्द गरायो फेरी खेलाइ हाल्छन् । महोत्सवमा जुवाजन्य गतिविधि हुनुहुँदैन यसमा म प्रतिबद्ध छु ।’

हाल महोत्सवमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट दैनिक १३ जना प्रहरी महोत्सवमा खटिँदै आएका छन् । त्यस अलावा सशस्त्र प्रहरीको समेत गरी जम्मा २५ जना सुरक्षाकर्मी दैनिक महोत्सवमा डिउटी खटिरहेका छन् । तथापि, महोत्सवमा भने दैनिक जसो जुवाजन्य खेल सञ्चालन भइरहेको छ ।  यता महोत्सव आयोजक किरात राई यायोक्खा बराहक्षेत्रका सचिव पवन चाम्लिङ राईले महोत्सवभित्र जुवाजन्य खेल खेलाइएको विषयमा भने ‘सामान्य विषय’ भएको प्रतिक्रिया दिए । प्राय महोत्सवमा यस्तो हुने रहेछ, महोत्सवमा सांस्कृतिकसगै मनोरन्जन गराउने खेल मात्र भएको उनले बताए । 

उद्देश्य विहीन महोत्सव

आयोजक संस्थाका सचिव राईका अनुसार बराहक्षेत्रको धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको दाबी गरे । तर महोत्सव भित्र धार्मिक पर्यटनको प्रवर्द्धन हुने खालको न स्टल छ न कतै प्रचार सामाग्री । हाल महोत्सव भित्र होटेल तथा रेस्टुरेन्टका स्टल बढी छन् । यस अलावा बालबालिकाहरूले खेल्ने बाल उघान मात्र छन् । सचिव राईका अनुसार बर्खाको समय र पानी झरीको कारण सोचे अनुरूप स्टलहरू व्यवस्थापन गर्न नसकेको स्वीकार गरे । बराहक्षेत्रको पर्यटन प्रर्बद्धनका केही न केही प्रचार सामाग्री महोत्सवमा समावेश गरिने बताए । 

महोत्सव बन्द गछौः प्रजिअ

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अनुमति बाहेकका गैरकानुनी गतिविधि गरे महोत्सव बन्द गराउने स्पष्ट पारे । ‘आयोजक संस्थाले महोत्सवको नाममा कबुलियत गरेको हुन्छ कि अशान्ति र गैरकानुनी गतिविधि हुँदैन भनेर । यदि कानुन उल्लखंन भएको रहेछ भने महोत्सव बन्द गछौ’ प्रजिअ मिश्रले प्रदेश पोर्टलसँग भने । यस्तै प्रजिअ मिश्रले मनसुनको समय अनि महोत्सवको समय अवधि धेरै लामो भएको कारण शान्ति सुरक्षामा केही असहज भएको प्रतिक्रिया दिए ।