६ जेष्ठमा महालेखा परिक्षणको कार्यालयले इटहरी उपमहानगरपालिकालाई १ अर्ब २६ करोड बेरुजु सहितको लेखा परिक्षण प्रतिवेदन बुझाएसँगै संघ र स्थानीय तहबाट संचालित बिभिन्न अनलाइन सञ्चारमाध्यमहरुमा सप्रमाण समाचारहरु प्रकाशन भए । धेरै जसो अनलाइनहरुले महालेखाले बुझाएको आधिकारिक लेखा परिक्षण प्रतिवेदनलाई आधार मानेर देशभरका ११ उपमहानगरपालिका मध्ये सबै भन्दा बढी बेरुजु इटहरीको रहेको उल्लेख गर्दै बेरुजु बढी हुने देशभरका उपमहानगरमध्ये इटहरी पहिलो भएको भन्दै समाचारको हेडलाईन बनाए । 

संघीय र स्थानीय अनलाइनमा कार्यरत पत्रकारहरुले नगरवासीलाई सहि र यर्थाथ सूचना सम्प्रेषण गर्नु आफ्नो कर्तव्य ठानी समाचाहरु बनाई कार्यरत आ आफ्ना संचारमाध्यमहरुमा पठाए र सम्पादन मण्डलले आवश्यक सम्पादन गरि  प्रकाशन समेत गरे । संघबाट होस् या स्थानीय तहबाट संचालित अनलाइन सञ्चारमाध्यमहरुले समाचारमा स्पष्टताका साथ आर्थिक बर्ष २०८०/२०८१ को लेखापरिक्षण गर्दासम्मको रिर्पोटका आधारलाई नै केन्द्र भागमा राखेर समाचार बनाएका थिए । समाचारमा हालसम्मको बेरुजु र आर्थिक बर्ष २०८०/२०८१ को बेरुजु के कति छ भन्ने खुलाएरै समाचार लेखेका थिए । यो कुरा इटहरीको बेरुजु प्रकाशन भएका अनलाइन संचारमाध्यममा अहिलेपनि सुरक्षित छन् । तर,समाचारको हेडलाइन मात्र पढेर पाठक बर्ग मात्र नभई, इटहरी सरकारको सत्तापक्षकै युवा कार्यकर्ताहरुले आ आफ्नो धारणा बनाएर सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी शुरु गर्न थालिहाले । विपक्षीहरुले त बनाउनु स्वभाविक नै हुने भईहाल्यो । 

त्यही मेसोमा इटहरी सरकारको अभिभावक मानिएका आफुलाई बौद्धिक युवा नेताभित्रै सधै राख्न रुचाउने मेयर हेमकर्ण पौडेलले पनि सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणीलाई नै आधार मानेर ९ असारको कार्यपालिका बैंठकमा बडो हतारोका साथ बेरुजुका बिषयमा समाचार बनाउने  सञ्चारमाध्यम र ती सञ्चारमाध्यममा आएका समाचार राम्रोसँग अध्ययन नगरी सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरु प्रति आक्रोश नै पोखे । 

WhatsApp Image 2025-07-04 at 20.25.12_7f0c7633

आफ्नै आधिकारिक फेसबुक पेंजबाट लाईभ गरिएको कार्यपालिका बैंठकमा बेरुजुका बारेमा आएको समाचार र त्यसका आधारमा सामाजिक सञ्जालमा गरिएका टिकाटिप्पणीका बारेमा उनले पोखेको आक्रोशलाई मिहिन तरिकाले अध्ययन गर्दा इटहरीको बेरुजुकै समाचारले उनलाई दोषी करार गरेको, भ्रष्टाचारी नै ठहर गरिहालेको, बाँकी कार्यकालसम्म सत्तामा बस्न नै नपाउने भईसकेको, आफ्नो राजनिति करियर नै सकिएको भन्ने मानसिकताबाट आएको प्रष्ट थियो । उनले आफ्नो नेतृत्वको इटहरी सरकार र आफ्नो बदनाम भएको भन्दै कार्यपालिका बैंठकमा सहभागी उपमेयर सहित सबै सदस्यहरुसँग सामाजिक सञ्जालमार्फत भईरहेका टिकाटिप्पणीको कडा रुपमा प्रतिवाद गर्न अनुरोध गर्नुले नै सो कुरा प्रमाणित गरिसकेको थियो ।  उनको अनुरोधलाई खासै समर्थन नपाएपछि इटहरीको बेरुजुलाई आफ्नो कार्यकालभित्रै सकेसम्म शुन्य गर्ने नभए ज्याँदै कम गराएरै छाड्ने प्रतिवद्धता जनाउँदै कानुन बमोजिम बेरुजु घटाउनका लागि एक समिति नै गठन गरि काम अघि थाल्ने निर्णय गराए । 

मेयर पौडेलले ९ असारको कार्यपालिका बैंठकमा बेरुजु बारे समाचार लेख्ने अनलाइन सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारहरु आफुलाई बदनाम गराउन लागि नै परेको अप्रमाणित आरोप लगाउँदै स्वतन्त्र रुपमा लेखापरिक्षण गर्ने महालेखाका लेखापरिक्षकहरुलाई समेत घुस लिएर लेखापरिक्षण प्रतिवेदन तयार पार्ने गरेको गम्भिर आरोप लगाउनसम्म भ्याए । 

इटहरीको बेरुजु बारे अनलाइन संचारमाध्यममा समाचार आउनसाथ हतारिँदै आक्रोश पोख्नु, समाचारलेख्ने पत्रकार , प्रकाशन गर्ने संचारमाध्यम,त्यसको आधारमा सामाजिक टिकाटिप्पणी गर्ने नगरवासीहरु प्रति आरोप लगाउनु  महालेखाको प्रतिवेदनमा औल्याइएका अन्य बिषयहरु रोक्ने मनोविज्ञानबाट मेयर प्रेरित भएको देखिन्छ । 

514349704_23919339861066906_1926219259381882372_n

अघिल्लो बर्षपनि बेरुजु र समग्र महालेखा प्रतिवेदनका आधारमा धेरै संचारमाध्यमा आएका यर्थाथ परक समाचारकै कारण दर्जनौ मुद्धाहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भई छानविनको प्रकृया रहेकाले पनि यसपटक बेलैमा रोक्नका लागि मेयर पौडेलले कार्यपालिका बैंठकमा आफ्नो आक्रोश पोखेको दावी गर्न सकिन्छ । 

तर, बेरुजुको मात्र नभई ‘क’ बर्गको एम्बुलेन्स खरिद नै नगरी आपुर्तीकर्तालाई ठेक्का सम्झौतामा कबुल गरेको रकमको शतप्रतिशत नै पेश्की वापत भुक्तानी लगेको बिषय आफु निकट पार्टीमै आस्था राख्ने पत्रकारबाट समाचारका रुपमा ब्रेंक हुनु, त्यसपछि क्रमश अन्य दर्जनौ मिडियाहरुमा एम्बुलेन्स सहित अन्य बिषयका समाचारहरु धामधम प्रकाशन र प्रशारण हुन थाले । 

पत्रकारहरुले आफ्नो धर्म निर्वाह गरिरहेको र इटहरी सरकारको काम गर्ने तरिकाप्रति, विधि विधानलाई क्रस गरेर मनलाग्दी अगाडि बढिरहेको बिषयमा प्रमाणका आधारमा नगरवासीलाई समाचारका माध्यबाट जानकारी दिँदा कार्यशैली सच्चाउनु त कता हो कता उल्टै सचिवालयमा बिभिन्न जिम्मेवारीमा बसेकाहरुलाई परिचालन गरि पत्रकारहरुले बेरुजु सम्बन्धि लेखेको समाचार झुट हो  भन्ने सावित गराई आफु असल बन्ने प्रयासमा उनी लागे । अग्रगमनका लागि आलोचना नै उत्तम र्औषधी हो भन्ने कुरालाई मेयर पौडेलले भुलेको बुझिन्छ । उनका सचिवालय सदस्यहरुले एआईमार्फत यति र एक युवती प्रयोग गरि झुटो प्रचारवाजीमै उत्रिए । यो कार्य उनको थप समाचार रोक्ने अर्को फण्डा थियो । सो भिडियोमा मेयर पौडेलको समर्थनमा भन्दा पनि विरोधमै बढी प्रतिक्रियाहरु आएका थिए । त्यसपछि त इटहरीमा एक खालको ‘‘एआई वार’’ नै चल्यो  । इटहरीका सचेत युवाहरुले पनि बेरुजुको बारेमा हल्ला मात्र हो, बेकारमा हालका मेयरलाई मुछेको भन्ने भिडियोलाई काउन्टर दिनेगरी थुप्रै भिडियो निर्माण गरि सामाजिक सञ्जालमा पोष्ट्याउने कार्य गरे । ती युवाहरुले बेरुजुको मात्र नभई मेयरले इटहरीमा थालेका केही कार्य बिचमै रोकिएको बिषयलाई प्रश्न गर्दै एआई यति र युवती प्रयोग गरि थप केही भिडियो निर्माण गरि सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गरे । 

सञ्चारमाध्यममा निरन्तर आईरहेका इटहरीको बेरुजु लगायत अनियमितता भईरहेको बिषयलाई ओझेलमा पार्नका लागि मेयर पौडेलले अन्ततः शुक्रबार बिहान आफ्नो आधिकारिक फेसबुक पेंज मार्फत इटहरीको समग्र पत्रकारितामाथि नै गम्भिर आरोप लगाई बिषयान्तर गर्न खोजे । स्टासले भोलीका दिनमा आफ्नो राजनिति करियरमा के कस्तो असर गर्ला ? आफु कुन पदीय जिम्मेवारीमा छु ? प्रमाण र आधार विना फेसबुकमा दुई चार लाईन लेखी पत्रकारिता क्षेत्रलाई नै गम्भिर आरोप लगाउँदा आफु कहाँ पुग्न सक्छु ? यसअघिका मेयर द्धारिकलाल चौधरीले इटहरीका सञ्चारकर्मीहरुमाथि गरेको दुव्र्यवहार विरुद्ध आफु कसरी र कुन तरिकाबाट मैदानमा उत्रिएको थिए ? निर्वाचन ताका बेरुजुका बिषयमा समाचार लेख्ने इटहरी क्षेत्रका दर्जनौ पत्रकारहरुले विना स्वार्थ कसरी सघाएका थिए ? यी सबै कुरालाई तिलान्जली नै दिएर तल्लो स्तरमा झरेर फेसबुकमा स्टाटस लेखेपछि इटहरीका पत्रकार र मेयर बीचको विवाद एकाएक चुलिन पुग्यो । पत्रकारहरुको साँझा संस्था नेपाल पत्रकार महासंघ सुनसरीले त प्रेस विज्ञप्ती प्रकाशन नै गरि स्टाटसको घोर भत्र्सना गर्दै मेयरको अभिव्यक्तिको खेद व्यक्त गरिसकेको छ । 

फेसबुकमा स्टाटस पोष्ट्याउनुमा पनि मेयर पौडेल अर्को मनोविज्ञानबाट प्रेरिरत भएको स्पष्ट हुन्छ । द्धारिकलाल चौधरी मेयर हुँदा इटहरीका पत्रकारहरुलाई त्यसै नाकको डाँढी भाँच्ने भनेका होइन रहेछ, इटहरीका पत्रकार नै बेठिक रहेछन् भन्ने सामाजिक सञ्जालमार्फत मेयर पौडेलले आम मानिसमा सन्देश प्रवाह गर्न चाहेको देखिन्छ । आफुले इटहरी नगरमा राम्रा काम  गरिरहेको र पत्रकारले सकरात्मक कार्यहरु नै नदेखेको भन्ने भाष्य निर्माणमा लागेको देखिन्छ । अझ  द्धारिकका पालमा पनि पत्रकारहरुले यसै गरे मेरा पालमा  पनि उहि पारा गरेका हुन् भन्ने प्रमाणित गर्न खोजेको देखिन्छ । ‘‘म होइन, गलत त इटहरीका पत्रकार हुन्, इटहरीको पत्रकारिता क्षेत्र हो’’  भन्ने जवरजस्त पुष्ट्याई गर्न एक झमट प्रयास रुवरुप सामाजिक सञ्जालमार्फत मेयर लागेको सहजै बुझिन्छ । 

मेयर पौडेलले स्टाटसमा लेखे झै कुन—कुन पत्रकारले आफ्नो सचिवालयमा अघिल्लो दिन नै आफु र नगरपालिका विरुद्ध समाचार बनाएर पठाउछन् । बनाएका समाचार कुन बाध्यमबाट पठाउँछन् ? कहिलेबाट कतिवटा समाचार त्यसरी बनाएर पठाएका छन् ? अनि दानापानीका लागि बार्गेनिङ गर्छन् ? र लाजले भोली पल्ट प्रकाशन र प्रसारण गर्दछन् ? समाचार आएका इमेल ठेगाना, संचारमाध्यमसँगै समाचार पठाई बार्गेनिङ गर्ने पत्रकारको नाम स—प्रमाण पेश गरे भईहाल्ने थियो । प्रमाण सहित सार्वजनिक गर्दा त्यस्ता पत्रकार र संचारमाध्यमलाई पत्रकार महासंघ लगायत सम्बन्धित निकायले कानुन अनुसार कार्वाही गर्छ भन्ने राम्रोसँग बुझेका मेयर पौडेलले स्टाटस मात्र लेखेर पोष्ट्याउनु  केबल नाङ्लो ठटाएर हात्ती तर्साउने काम बाहेक उनले अरु केही गरेका होइनन्, भन्न कुनै आइतबार नै पर्खनु पर्दैन । 

मेयर सच्चिनु नै अतिउत्तम

३ बर्षअघि भएको निर्वाचन ताका इटहरी परिर्वतनका लागि युवा जोश जागर बोकेका आशा लाग्दा मेयरका रुपमा सबैले पौडेललाई हेरेका थिए । कांग्रेसका कार्यकर्ताले मात्र नभई एमालेका कतिपय कार्यकर्ताहरुले नै आफ्नो उम्मेदवारलाई गद्धारी गरि मेयरमा पौडेललाई मतदान गरि अधिक मतले विजयी गराएको कुरा कसैमा छिपेको छैन् । तर, सत्तामा आएकै १ बर्षपछि इटहरी नगरवासीहरुले उनीमाथि गरेको  आशा भन्दा फरक तरिकाले कार्य गरेकाले नगरवासीमा वितृष्णा जाग्नु स्वभाविक नै हो । सत्ता बाहिर हुँदा इटहरीका जनताहरुको खास आवश्यकता र चहाना बुझे झै गर्नु र सत्तामा पुगेपछि नबुझे झै गर्नुले जो कोहीलाई असल मेयरका रुपमा दर्ज हुन कठिन नै हुन्छ । 

जनताका पक्षमा पत्रकारिता गर्ने पत्रकार र सञ्चारमाध्यमले कहिले पनि सत्तामा रहनेहरुको गुनगान गाउँदैन । सत्ता रहेकाहरुको भजनमण्डली हुन पनि सक्दैन । जनताका पक्षमा पत्रकारिता गर्नेहरु सधैभरी सत्ताको विपक्षी नै हुन्छन् । यो कुरा मेयर पौडेलले राम्रोसँग हेक्का राखे हुन्छन् कि ,इटहरीमा सहि पत्रकारिता गर्नेहरुले आफ्नो एकमुठ्ठी श्वास रहुन्जेल सत्ता पक्षलाई लाख प्रश्नहरु गरिरछन् ।  । त्यसको सहज ढंगबाट जवाफ दिन हिम्मत गर्नु हितकर हुने छ । 

३ बर्षे कार्यकाल पूरा भएको समयलाई आफु सच्चिने एउटा सुनौलो अवसरमा रुपमा लिएर मेयर पौडेलले यसबेला आफुले यो अवधि गरेका कार्यहरुलाई अन्तरमनबाटै सहि या गलत गरे त ? भन्ने प्रश्नमा घोत्लनै पर्छ । दम्भ र सत्ता उन्मादले मानिसलाई कहिपनि पुराउँदैन भन्ने कुरा मेयर पौडेलले राम्रोसँग बुभ्mन जरुरी छ । मानिस हो, कमि कमजोरीहरु हुन्छन् नै । त्यसलाई सच्चाएर, आत्मआलोचित हुँदै अगाडि बढ्दा नै श्रेयस्कर हुने छ,  केबल ,निरलज्ज भएर आरोप प्रत्यारोपमा लागेर होइन् । 

 इटहरीको पत्रकारिताको साथ र सहयोगबाटै युवा नेताका रुपमा  स्थापित भई इटहरी सरकारको कुर्सीमा पुगेको हुँ भन्ने सत्यतालाई मेयर पौडेलले भुल्न हुँदैन । त्यसकारण इटहरी क्षेत्रका पत्रकार र पत्रकारिताको माया पाई जीवनभर राजनिति मार्फत जनता र राष्ट्रको सेवा गर्ने चाहना नै हो भने  सामाजिक सञ्जालमार्फत इटहरी क्षेत्रकै समग्र पत्रकारिता माथि लगाएको खेदजनक आरोप मेयर पौडेलले सार्वजनिक रुपमा माफी माग्दै तुरुन्त फिर्ता लिनु नै अति उत्तम हुने छ । जय, इटहरीको सत्य पत्रकारिता !