सङ्खुवासभाः सरकारी कार्यालयका परम्परागत उजुरी पेटिका प्रयोगविहीन बन्दै गएका छन् ।
सरकारी कार्यालयहरूको कामकारबाही, कर्मचारीको व्यवहार र ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् ।
सुशासन, परदर्शी र जवाफदेहितको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन् । हाल उजुरी पेटिकामा धुलोमैलो र माकुराको जालो भरिएको छ भने मुसा र भित्तीको बासस्थान समेत बनेको पाइन्छ ।
सङ्खुवासभाका अधिकांश सरकारी कार्यालयका यस्ता पेटिका सबै औचित्यहीन बन्दै गएका छन् । सेवाग्राहीको धेरै चाप हुने सङ्खुवासभाको जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयका ती पेटिकामा न कहिले उजुरी पर्ने गरेका छन् न त कसैले गुनासो लेखेर हाल्ने गरेको पाइन्छ ।
कुनै पनि सरकारी कार्यालयमा सुझाव र गुनासोको एक टुक्रा पनि परेको नदेखिएको जिल्ला कार्यालय प्रमुखहरूले बताउने गरेका छन् ।
समय आधुनितातर्फ बढ्दै गएका कारण उजुरी नपरेको कार्यालय प्रमुखहरू बताउँछन् । कुनै बेला सुझाव र गुनासोले भरिने सुझाव पेटिकामा आजकाल गुनासो, उजुरी तथा सुझाव नपर्ने हुनाले ती बक्स नै खोल्न छाडिएको कार्यालय प्रमुखहरू नै बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालयजस्ता सेवाग्राहीको धेरै भीड हुने कुनै पनि सरकारी निकायमा उजुरी र गुनासो सुझाव पेटिकामा खसेको पाइँदैन ।
इमेल र फोनले उजुरीपेटिका विस्थापित
सरकारी सेवा चुस्तदुरुस्त बनाउनको लागि प्रायःजसो ती उजुरीपेटिका राखिएका हुन् । सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारीसमक्ष पुगेर गुनासो र उजुरी गर्न पाऊन् भनेर विशेष रूपमा उजुरीपेटिका राख्ने गरिन्छ ।
सरकारी कार्यालयहरूमा हुने कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भनेर ती पेटिका राख्ने व्यवस्था गरिएको हो । कमजोरी सुधार्न र ढिलासुस्ती गर्ने कर्मचारीलाई कारवाही गर्नको लागि यस्तो पेटिका राख्ने कानुनी प्रावधान छ ।
तर, पछिल्लो समय सूचना प्रविधिको विकास र नागरिकमा चेतनाको वृद्धिकै कारण सुझाव पेटिका प्रयोगविहीन भएको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीको भनाइ छ । ‘सेवाग्राहीको केही गुनासो भए गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तथा कार्यालय प्रमुखलाई सिधै मौखिक रूपमा सेवाग्राहीले कुरा राख्न पाउँछन्,’ उनले भने, ‘गुनासो तथा उजुरीपेटिकामा किन लेखेर हाल्नु प¥यो त ?’ अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी भएका कारण पनि सेवाग्राहीलाई सजिलो भएको तथा सेवाग्राही पनि धेरै सचेत भइसकेको उनी बताउँछन् ।
‘कार्यालयको सेवामा चित्त नबुझे प्रमुखलाई नै भेटेर गुनासो र उजुरी गर्छन्,’ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रुमख भोजराज पौडेलले भने, ‘कसैले लेखेर कार्यालयको इमेलमा पठाउँछन् भने कोही सिधै फोन गरेर भन्न पाउने प्रविधिको विकास भएको छ ।’
इमेल र फोनले हिजोआज चिठीपत्रसमेत हराउन थालेका छन् । जिल्ला हुलाक कार्यालय सङ्खुवासभाका प्रमुख रुद्रबहादुर बुढाथोकीले सरकारी कार्यालयका मात्र चिठीपत्र आउने र जाने गरेको बताए । ‘मैले मेरै कार्यालयका अति आवश्यक चिठीहरू स्क्यान गरेर मेल गर्छु,’ उनले भने, ‘चिठीपत्र पुग्नुभन्दा अगाडि नै इमेलबाट छिटो पठाउन सकिन्छ ।’