विराटनगरः मोरङका ४ स्थानमा नोबेल शिक्षण अस्पतालले गत साता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कटहरी, बेलबारी, बुढीगङ्गा र ग्रामथानमा शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

कटहरी गाउँपालिकाको शीतपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्याब परीक्षण गराएको अस्पतालले जनाएको छ । त्यहाँ ३ सय २७ जना बिरामीले निःशुल्क उपचार लिएको अस्पतालले जानकारी दिएको हो ।

त्यस्तै, बेलवारी–८ बिहीबारेमा आयोजित शिविरमा ६ सय ८ जना बिरामीले निःशुल्क उपचार गराएका थिए । बेलबारीमा ८२ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्याब टेष्ट र २१ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका ५५ जनालाई नोबेल अस्पताल रेफर गरिएको थियो ।

Swastha-Sibir-Photo-8

बुढीगङ्गा–६ शुकचरमा सञ्चालित शिविरबाट ४ सय ३२ जना बिरामीले निःशुल्क उपचार पाएको अस्पतालले जनाएको छ । सोे शिविरमा ६७ जनाको भिडियो एक्सरे, ३६ जनाको ल्याब टेष्ट र २८ जनाको ईसीजी गरिएको बताइएको छ ।

उता, ग्रामथान गाउँपालिका स्थित तेतरियामा भएको शिविरमा २ हजार १ सय ७६ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा २ सय ८३ जनाको भिडियो एक्सरे, १ सय ७३ जनाको इसीजी र २ सय ९० जनाको ल्याब टेष्ट गरिएको थियो । सो शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी आएका थिए ।

हरेक शिविरमा विशेषज्ञ डाक्टरसहितको टोली गएर मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नशा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको अस्पताल स्रोतले जनाएको छ । पूर्वका बिभिन्न जिल्लामा शिविरलाई निरन्तरता दिइने अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए । अघिल्लो आर्थिक वर्षमा शिविरमार्फत् ४९ हजार बिरामीको निःशुल्क उपचार गरिएको पनि शर्माले बताएका छन् ।