इटहरीः बाल दिवसको अवसर पारी मोरङको सुन्दहरैंचा–७ मा रहेको ज्ञानज्योति इङ्लिस स्कुलमा शुक्रबार सांस्कृतिक पहिरन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी भएका विद्यार्थीले सांस्कृतिक पहिरन प्रदर्शन गर्नुका साथै गीत, नाच तथा नाटकका माध्यमबाट आफ्नो प्रतिभा प्रस्तुत गरेको प्रिन्सिपल देवी सिटौलाले बताए । कार्यक्रममा प्रावि तहका विद्यार्थीले बाल विवाहसम्बन्धी तथा मावि तहका विद्यार्थीले विद्यार्थी जीवनको महत्वसम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।
विद्यालयका कोअर्डिनेटर जयन्द्र भट्टराईका अनुसार विद्यालयमा यसअघि भएका विभिन्न कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार पनि वितरण गरिएको थियो । यसअघि भएका वादविवाद तथा हिज्जे प्रतियोगितामा विजयी विद्यार्थीलाई शुक्रबार पुरस्कार वितरण गरिएको भट्टराईले बताए ।
विद्यार्थीबीच विविध संस्कृतिको पहिरन तथा नृत्यको बारेमा परिचित गराउन शुक्रबार विद्यालयको पोशाकमा नभई आफ्नो जातीय सांस्कृतिक पहिरन लगाएर आउन विद्यालयले अनुरोध गरेको भट्टराईले बताए ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल देवी सिटौलाको सभापतित्वमा भएको थियो । कार्यक्रममा विद्यार्थीका साथै अभिभावकको पनि उल्लेख्य उपस्थिति थियो ।