झापाः मेचीनगरका पंक्षी तथा पशुपालक किसानहरूलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक २ दिने निःशुल्क पंक्षी तथा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा बिहीबार सम्पन्न आयोजक, सहआयोजक तथा शिविरको प्राविधिक सहयोगी हिकाष्ट नेपालका प्रमुख र प्रतिनिधिबीच भएको बैठकले आगामी असोज १ र २ गते नगरका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गर्ने निर्णय गरेको नगरकापालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
शिविरको सहआयोजक धुलाबारी माध्यमिक विद्यालय रहेको छ । शिविर सम्पन्न गर्न हिकाष्टका तर्फबाट २ जना विषय विज्ञ पशु चिकित्सकसहित ३२ जनाको टोली झापा आउने नगरप्रमुख विमल आचार्यले जानकारी दिए । सहआयोजक धुलाबारी माध्यमिक विद्यालयमा अध्ययनरत पशु विज्ञानका छात्रछात्राले समेत शिविरमा सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिए । उनका अनुसार असोज १ गते नगरको २ नम्बर वडा कार्यालय परिसर तथा २ गते कवि शिरोमणि माध्यमिक विद्यालय परिसरमा शिविर सञ्चालन हुने छ ।
शिवरमा पशुको निःशुल्क स्वास्थ्य परीक्षण, गोबर, रगत परीक्षण तथा बन्ध्याकरणको सेवा उपलब्ध गराइने छ । शिविरलाई व्यवस्थित रूपमा सम्पन्न गर्न वडा नम्बर ९ का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक सुदय पनेरु संयोजक रहेको समिति गठन भएको छ । अधिकृत दीपेन्द्र कार्की सदस्य सचिव रहेको २२ सदस्यीय शिविर व्यवस्थापन समिति समेत बैठकले गठन गरेको छ । समितिमा विषयगत समितिका संयोजक, सहआयोजक, हिकाष्ट नेपालका प्रमुख प्रतिनिधिहरू रहेका छन् ।
यसैगरी, मेचीनगर नगरपालिका क्षेत्रभित्र भुस्याहा कुकुर नियन्त्रण गर्नका नगरपालिकाले भुस्याह तथा घरपालुवा कुकुरहरूलाई ५ दिने निःशुल्क बन्ध्याकरण तथा रेबिज भ्याक्सिन उपलब्ध गराउने भएको छ । सो काम असोज २ गतेदेखि ७ गतेसम्म हुने बताइएको छ ।
बैठकमा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समितिका संयोजक कृष्ण खनाल, विधान समिति संयोजक कुसुम चौधरी, सुशासन तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाई सहभागी थिए ।
त्यस्तै, ४ नम्बर वडाका वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक नवीन बराल, यान्त्रिक समितिका संयोजक पूर्ण मेचे, वडा नम्बर ९ का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक सुदय पनेरु पनि बैठकमा उपस्थित थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी अधिकृतहरू अनन्तप्रकाश वस्ती, दीपेन्द कार्की, धुलाबारी माविका प्रधानाध्यापक तेजप्रसाद चौलागाईँ, पशु चिकित्सकहरू सीताराम यादव, राघवेन्द्र तिवारी, महेन्द्रप्रसाद मण्डल लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।