इटहरीःधेरै जसो युवाहरुले प्रेम दिवस(प्रणय दिवस) आफ्ना प्रेमीकाहरुसंग डेटिंग गएर मनाउने गरेका छन् । तर, यसपालिको प्रेम दिवस इटहरीका केही क्रिएटिभ यूवाहरुले देश विदेशमा फरक सन्देश दिनका लागि प्रेम दिवस फरक शैलीको कार्यक्रमको आयोजना गरि मनाउने भएका छन् । सृजनशिल युवाहरुको समूह इटहरी सुनसरी लियो क्लबका पूर्व अध्यक्ष युवराज काफ्लेका अनुसार यसपटकको प्रेम दिवस कवि, कविता र संगीतकारसंग मनाउने कार्यक्रम तय भएको छ ।
आउने फागुन २ गते अर्थात फेब्रुअरी १४ तारिखका दिन इटहरीको कस्तुरी कलेजमा चर्चित कवि नवराज पराजुलीसंग कविता कन्सर्ट गरि यसपालिको प्रेम दिवस मनाउने कार्यक्रम तय भएको लियो क्लब इटहरीका अध्यक्ष चिरञ्जीवि कार्की(विपिन)ले बताए । सधैभरी प्रेमप्रमिका बीच मात्रै होइन, कवि कविता र संगीतसंग पनि प्रेम दिवस मनाउनुपर्छ । जसले युवाहरुलाई सृजनशिलता तिर लैजान सहयोग पुग्छ भन्ने ध्ये राखेर कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । शुल्क सहितको कविता कन्र्सटमा पराजुलीले आफ्ना चर्चित कविताहरु सहभागीहरुलाई पस्कने छन् । युवा माझ लोकप्रिय कवि पराजुलीलाई कन्सर्टमा पोखराका युवा संगीतकार रञ्जन गायकले बाँसुरी र सांरगी बजाएर साथ दिने छन् । गायकले नवराजका कविताका लयसंगै मिल्ने गरि बाँसुरी र सांरगी बजाएर कन्सर्टलाई भव्य बनाउने कार्यक्रम संयोजक आभाष भट्टराईले बताए । यसअघि पनि ०७५ असार २ गते इटहरीमा पराजुलीलाई नै सहभागी गराएर कविता कन्सर्ट गरिएको थियो । कविता र संगीतलाई संगसंगै लिएर व्यवसायीककरण गर्नका लागि यसखालको कार्यक्रमलाई निरन्तरता दिदै जाने लियो इटहरीका पूर्व अध्यक्ष काफ्लेले बताए । कन्सर्टबाट उठेको केही रकम समाजिक कार्यका लागि खर्चिने योजना रहेको कार्यक्रम संयोजक भट्टराईले बताए ।