विराटनगरः विराटनगर महानगरपालिकाले नौवटा योजनालाई प्राथमिकतामा राख्दै केही वर्षभित्रै विकासमा फड्को मार्ने भएको छ । त्यसका लागि महानगरले नौवटा विकासका योजनालाई प्राथमिकतासाथ अघि बढाएको छ ।
महानगरका प्रमुख भीम पराजुलीका अनुसार एसियाली विकास बैंकको सहयोगमा विराटनगरमा संचालित सहरी विकास तथा वातावरणीय परियोजनाअन्तर्गत सडक तथा ढल निर्माणको काम लगभग पूरा हुन लागेको छ । अब महानगरले दीर्घकालीन महत्व राख्ने योजनातर्फ ध्यान केन्द्रीत गरेको हो । ‘‘महानगरले प्रोजेक्ट बैंकअन्तर्गत राखेका कतिपय परियोजनाको सम्भाव्यता अध्ययनसमेत पूरा गरिसकेको छ’’,पराजुली भन्छन्,‘‘केही वर्षभित्रै पूरा हुने यी विकासको पूर्वाधारले अहिलेको विराटनगरको कायाकल्प नै फेरिने छ ।’’ उनले विकासका यी परियोजनालाई दीर्घकालीन रुपमा पूरा गर्ने गरी छनोट गरिएको जानकारी दिएका छन् ।
महानगरले अघिसारेका नौवटा विकासका परियोजना पूरा हुनासाथ विराटनगर हरेक दृष्टिले आधुनिक सहरतर्फ अग्रहसर हुने विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी बताउँछन् । तीमध्ये पनि महानगरले विराटकालिन राजा विराटसंग जोडिएको विराट राजाको दरबार पूननिर्माणलाई विशेष महत्व दिएको छ । ‘‘यसलाई महानगरको ड्रिम प्रोजेक्टका रुपमा बुझ्दा पनि हुन्छ,’’अधिकारीले भने,‘‘यसबाट महानगरले धार्मिक पर्यटनलाई बढावा दिई निकै राम्रो आम्दानी गर्ने अपेक्षासमेत गरेको छ ।’’ छनोट गरिएका परियोजनालाई क्रमशः निर्माण गर्ने योजना रहेको उनले सुनाए ।
आधुनिक विराट राजाको दरबार
बुधनगरमा अवस्थित भेडियारीमा निर्माण गरिने विराट राजाको दरबार ऐतिहासिकता र आधुनिकताको संगम हुनेछ । यसमा उत्खनन्बाट फेला परेका विराटराजासंग सम्बन्धित वस्तुको संग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानको लागि व्यवस्थित फुडस्टल र विराटकालिन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण हुनेछ । महानरले यसको थ्रिडी स्वरुप तयार गरी थप अध्ययन गरिरहेको छ । यो विराटराजाको दरबार रहेको विराटनगर १८ मा निर्माण हुनेछ ।
महानरपालिका स्तरीय पार्क
महानगर क्षेत्रमा टहलिनका हाल वीरेन्द्र सभागृहसंगै पार्क निर्माण गरिएको छ । तर, यसले मात्र यहाँको मागलाई थेग्न सक्ने अवस्था छैन । महानगरस्तरीय पार्क निर्माणका लागि व्यवस्थित रुपमा वडा नम्बर ५ लाई छनोट गरिएको महानगरका प्रमुख भीम पराजुलीले बताएका छन् । त्यहाँ आधुनिक सुविधा र घुमफिरको लागि उपयुक्त वातावरण हुनेछ । महानगरले राजवंशी चौक नजिकै कालिका कन्ट्रसन्ससंगको सम्झौतामा निर्माण भएको हरियापार्क यसअघि नै शुभारम्भ गरिसकेको छ । शनिबाहादेखि सरस्वती दक्षिणसम्म सिंघिया तटसम्मको पार्कको कामअन्तर्गत जग्गा घेराबारा गर्ने काम सम्पन्न भएको छ । त्यहाँ चाँडै पार्क निर्माणको काम थालनी हुने बताइएको छ ।
सिंघिया केसलिया ग्रिनबेल्ट
विराटनगरको दायाँबायाँ बग्ने केसलिया र सिंघिया खोलामा तटबन्ध निर्माण गरी ग्रिनबेल्टको महात्वाकांक्षी परियोजना पनि विराटनगरको एक प्रमुख विकाससंग सम्बन्धित काम हो । हाल दुबै नदी बर्खायाममा उर्लंदा वस्तीभित्र पस्ने जोखिम छ । २०७४ को बाढीले दुबै नदी वस्तीमा पसेर ठूलो क्षतिसमेत गरेको थियो । नदी तटबन्ध गरी हरियाली ग्रिनबेल्ट निर्माण गर्ने योजना महानगरले बनाएको छ । यसपछि दुबै नदीको स्वरुपमा परिवर्तन आई त्यहाँ घुमफिरका लागि योग्य हुने महानगरका प्रमुख पराजुली बताउँछन । भन्छन्,‘‘ग्रिनबेल्ट विस्तार गरी त्यहाँ घुमफिरका लागि उपयुक्त वातावरण बनाइने छ ।’’
नहरमा वाङिक जोन
विराटनगरको पश्चिमपट्टिको भागबाट बग्ने नहरलाई समेत व्यवस्थित बनाउने महानगरले तयारी गरेको छ । यसलाई आफ्नो प्रभावकारी परियोजनाको रुपमा लिएको महानगरले नहरको दुबैतर्फ तटबन्ध गरी हिंडडुल गर्न र साँझबिहान टहलिन मिल्ने बनाउने तयारी गरिरहेको छ । यसको लागि सडक निर्माणदेखि बाँध बाध्ने काम हुने बताइएको छ । नहरमा समेत छठपर्व मनाउने गरिन्छ । अहिले मानिसहरुलाई व्याम गर्न तथा बिहान मर्निङ वाक गर्न सहरीक्षेत्रकै सडकको भर पर्नुपर्ने अवस्था छ ।
आदिवासी, जनजाति, दलित एकीकृत संग्रहालय
विराटनगर महानगरपालिकाले आदिवासी,जनजाति, दलित एकीकृत संग्रहालय निर्माण गरी यसलाई पर्यटकीय गन्तब्य बनाउने योजना बनाएको छ । यसको लागि महानगरले वडा नम्बर १९ मा जग्गा प्राप्ति गर्नेलगायतको काम छिट्टै थालनी गर्ने तयारी गरेको छ । संग्रहालयमा यसक्षेत्रका आदिवासी, जनजाति तथा दलित समुदायको रहनसहन, भेषभूष, संस्कृति र परम्परा झल्कने वस्तु संग्रहित हुनेछन् । विराटनगर र आसपासमा आदिवासी समुदायको बाहुल्यता छ भने उनीहरुको पेशा, संस्कृति संस्कार उजागर गर्ने वस्तुहरुको संरक्षण हुन सकेको छैन ।
तीन ठाउँमा अत्याधुनिक आकाशे पुल
विराटनगरको प्रमुख तीन चौकमा महानगरले आकाशे पुल निर्माणको प्रक्रिया नै अगाडि बढाइ सकेको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन स्विकृतिका लागि सडक विभागमा पठाइएको छ । केही दिनभित्रै निर्माणको लागि बोलपत्र आव्हान हुँदैछ । विराटनगर–धरान सडक खण्ड अन्तरगत पर्ने कञ्चनबारी चोक, बरगाछी चोक र महाबीर चोक (घाँस चोक) मा आकाशे पुल निर्माण हुने । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार रानी –इटहरी– धरान छ लेन सडक अन्तरगत पर्ने चारवटा चोकहरुमा अधिक भींडभाड हुने गरेको छ । सर्वसाधारणलाई सडक वारपार गर्न कठिनाई भएको र आकाशे पुल नहुँदा जथाभावी बाटो काट्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्षको बजेटमा आकाशे पुल निर्माणकालागि महानगरले रु. ३ करोड बजेट विनियोजन गरेको छ । पुल पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित रहेको इन्जिनियर अर्जुन थापाले बताए । भने,‘‘कुनै कारणले अन्यत्र सार्नु परेमा वा मोनोरेल सञ्चालनका क्रममा हटाउनु पर्ने अवस्था उत्पन्न भएमा पुनः प्रयोगमा ल्याउन सकिन्छ ।’’ तीस मिटर चौडा सडकमा दुवै तर्फ गरी ५ मिटर फुटपाथ छोडेर २५ मिटर लम्बाइका आकाशे पुल निर्माण हुने छन् । त्यसको उचाई ६ मिटर हुनेछ ।
महानगरले सीपविकास केन्द्र, विद्युतीय शवदाह गृह, एकीकृत सुकुम्बासी वस्ती निर्माणलाई समेत अघि बढाउने तयारी गरेको छ । एकीकृत सुकुम्बासी वस्ती निर्माणाधिन अवस्थामा छ । साझेदार संस्थाहरुसंगको सहकार्यमा बन्दै गरेका घर निर्माण लगत्तै स्थानीयलाई हस्तान्तरण हुने बताइएको छ ।